अन्तर्वार्तामै रोए जेन-जी अभियन्ता पुरूषोत्तम यादव

कार्तिक २४, २०८२ |रुपेश श्रेष्ठ
अन्तर्वार्तामै रोए जेन-जी अभियन्ता पुरूषोत्तम यादव

काठमाडौं । एकदिन पुरूषोत्तम यादवलाई नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले फोन गर्नुभयो। 

भदौ २३ गते जेन-जीको प्रदर्शनको पूर्वसूचना दिँदै सुरक्षा प्रबन्धका लागि प्रशासनमा निवेदन दिने अभियन्ता हुन्, पुरूषोत्तम यादव । आफूले आह्वान गरेको शान्तिपुर्ण प्रदर्शनमा सरकारी पक्षबाट भएको दमन र अर्को दिन भएको हिंसा र आगजनीले आहत यादवलाई ओलीले फोनमा आन्दोलनकारीलाई गोली हान्ने आदेश आफूले नदिएको बताउनुभयो। 

ओलीलाई उध्दृत गर्दै यादवले भन्नुभयो,'मलाई थाहा छैन गोली चलाउने आदेश कसले दियो ! घुसपैठ भयो, बाहिरको शक्ति यो भयो त्यो भयो।' कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम 'फायरसाइड'मा कुरा गर्दै यादवले ओलीमाथि प्रश्न गर्नुभयो,'उहाँले मलाई थाहा छैन भनेर उन्मुक्ति पाउनुहुन्छ ? भाषण गर्दा दुनियाँको ज्ञानी मान्छे मैं हुँ जस्तो गर्नुहुन्छ। तर माफी माग्नुहुन्न। माफी माग्नुपर्दैन ?'

२३ गते साँझ नै आफूले आन्दोलनमा घुसपैठ भएको कुरा सामाजिक सञ्जालमा लेखेको बताउँदै यादवले घुसपैठ कसले गरेको हो ? भन्ने कुरा बताउने जिम्मेवारी तत्कालिन सरकारको नेतृत्वमा रहेकाहरूको भएको जिकिर गर्नुभयो। जंगी अड्डामा २४ गते राति भएको वार्तामा आफूलाई बोलाइए पनि त्यसपछिका छलफल र वार्ताहरूमा आफूलाई संलग्न नगराइएको प्रति पनि यादवले रोष प्रकट गर्नुभयो।

'पहिलो दिनको वार्तामा म पनि गएको थिएँ। तर त्यसपछि मलाई राखिएन। कुनै कुनै दिन त म राष्ट्रपति कार्यालयबाहिर ३-४ घण्टा बसेको छु।' आन्दोलनमा सहभागी हुने, घाइते हुने र गोली लागेर मारिनेमा मधेश र सुदूरपश्चिमका युवाहरू धेरै भए पनि आन्दोलनपछि भएका छलफल र वार्ताहरूमा आफूहरूलाई किनारा पारिएको उहाँको बुझाइ छ। 'प्रधानमन्त्रीलाई त मैले उहाँ प्रधानमन्त्री भएको २० दिनपछि भेट्न पाएँ।' आन्दोलन आफूले आह्वान गरेको तर त्यसको फाइदा अरूले उठाएको उहाँको भनाइ छ।

भ्रष्टाचारविरूद्धको अभियानमा संलग्नता

आफूले तीन वर्षअघिदेखि नै भ्रष्टाचारको विरूद्धमा अभियान सञ्चालन गर्ने तयारी थालेको यादवको भनाइ छ। सरकारी सेवा प्राप्त गर्न घुस नखुवाई नहुने प्रवृत्ति, बेरोजगारी र अशिक्षाका कारण आफू यसतर्फ अग्रसर भएको बताउनुभयो। फागुन २१ को निर्वाचनका लागि तयारी गरिरहेको बताएका यादवले कुलमान घिसिङ, बालेन्द्र शाह, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका शक्तिहरू एक ठाउँमा आउने हो भने पुराना दलहरूलाई परास्त गर्न सकिने विचार राख्नुभयो। आफू यसैका लागि छलफलमा रहेको जानकारी दिँदै यादवले आउने निर्वाचनमा उम्मेदवारी दिनेमा आफू स्पष्ट रहेको पनि बताउनुभयो।

कार्यक्रममा बोल्दा-बोल्दै रोए पुरुषोत्तम यादव

सिरहाबासी यादवले मधेशका युवाहरूमा लागूपदार्थ दुर्व्यसनीको लतका कारण आफू अत्यन्त दु:खी भएको बताउनुभयो। 'युवाहरू ड्रग्स खाएर पूरै बिग्रिएका छन्। ८ कक्षा पढ्ने विद्यार्थी ट्याब खाएर हिँड्छ, पैसाका लागि चोरी गर्छ ।' आँखाबाट आँसु बगाउँदै यादवले भन्नुभयो,'तराई खतम भइसक्यो। त्यो किसानले मल पाउँदैन, बिउ पाउँदैन, बजार पनि पाउँदैन।' यादवले मधेशमा आज पनि केन्द्रकै सत्ताको हालीमुहाली भएको बताउनुभयो। 

साेमबार राति प्रसारण हुने कार्यक्रम 'फायरसाइड'मा यादवले आन्दोलन र आन्दोलनपछिको घटनाक्रमहरूबारे खुलेर आफ्ना कुरा राख्नुभएको छ। 


Image

रुपेश श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका नायब समाचार प्रमुख हुन् ।