सरकारले फिर्ता बोलाएका अधिकांश राजदूत काठमाडौंमा

बेलायतका लागि नेपाली राजदूत चन्द्र घिमिरेको राजीनामा स्वीकृत हुन बाँकी, वरिष्ठ कर्मचारीलाई नै दूतावासको जिम्मा
कार्तिक २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
सरकारले फिर्ता बोलाएका अधिकांश राजदूत काठमाडौंमा

काठमाडौं । सरकारले फिर्ता बोलाएका अधिकांश राजदूत काठमाडौं आएका छन् । 

गत असोज ३० गतेको मन्त्रिपरिषद् बैठकले ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । मलेसियाका लागि नेपाली राजदूत नेत्र तिमल्सिना शुक्रबार परराष्ट्र मन्त्रालयमा पुगेर उच्च अधिकारीलाई भेट्नुभएको छ । त्यस्तै जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले आफू फर्किएको जानकारी मन्त्रालयलाई दिनुभएको छ ।

अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले फर्किएको बोर्डिङ पास नै मन्त्रालयमा बुझाउनुभएको छ । कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेल भने शुक्रबार काठमाडौं आइपुग्दै हुनुहुन्छ । राष्ट्रपति रामचन्द्र पौडेलको कतार भ्रमणका कारण उहाँ ढिला गरी आउनुभएको हो । 

बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले काठमाडौं फर्किएर राजीनामा दिइसक्नुभएको छ । तर स्वीकृत भएको छैन । उहाँले देशको प्रतिनिधित्व गर्ने गरिमामय पदले सम्मान नपाएपछि राजीनामा दिएको कान्तिपुर समाचारसँग बताउनुभयो ।राजदूत फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले कात्तिक १६ गते आदेश दिएको थियो । 

त्यसपछि मन्त्रालयले अर्को पत्र पठाउँदै राजदूतहरूलाई मन्त्रालयमा हाजिर हुन भनेको थियो । अहिले फर्किएका राजदूतहरूलाई मन्त्रालयमै बस्ने व्यवस्था गरिएको छ । यसअघि प्रयोगमा नआएका कोठा सरसफाइ गरेर राजदूतहरूलाई राख्ने व्यवस्था मन्त्रालयले मिलाएको हो ।

यता सरकारले राजदूत फिर्ता भएका देशमा दूतावासमा भएका वरिष्ठ कर्मचारीलाई जिम्मेवारी दिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.