जन्मदर्ता फर्जी, सिफारिसको रेकर्ड पनि भेटिएन, कसरी लिए दावाले नागरिकता ?

कार्तिक २०, २०८२ |किरण पौडेल
जन्मदर्ता फर्जी, सिफारिसको रेकर्ड पनि भेटिएन, कसरी लिए दावाले नागरिकता ?

काठमाडौं । गत भदौ २३ र २४ को जेन–जी आन्दोलनमा भिडलाई भड्काउन संलग्न रहेको भन्दै २६ असोजमा अभद्र व्यवहारमा पक्राउ परेका तिब्बतियन ओरिजनल ब्लड-टीओबीका सदस्य तेन्जीन दावा लामामाथि लागुऔषध र किर्तेमा समेत प्रहरीले अनुसन्धान अघि बढाएको छ । अभद्र व्यवहारमा अनुसन्धान गरिरहँदा दावाको जन्मदर्ता र नागरिकतामा समेत कैफियत देखिएपछि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले जानकारी दिनुभएको छ । काठमाडौं महानगरमा उनको जन्मदर्ताको रेकर्ड भेटिएन । तर जिल्ला प्रशासन कार्यालय काठमाडौंको डिजिटल रेकर्डमा दावाको नागरिकता भेटिएको छ । आखिर कसरी लिए दावाले नागरिकता ?

गत २६ असोजमा पक्राउ परेका तेन्जिन दावा लामामाथि प्रहरीले सुरुमा काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट अभद्र व्यवहारको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाएको थियो । तर अनुसन्धानका क्रममा उनको नागरिकता र जन्मदर्ताका विवरण नै शंकास्पद देखियो ।

हामीलाई प्राप्त तेन्जिङको जन्मदर्ताको कागजातमा उल्लेख मिति हो – २०६३ चैत १० गते। काठमाडौं महानगरपालिका वडा नम्बर ६ बाट जारी भएको देखिने प्रमाणपत्रमा उल्लेख मितिअनुसार त्यो दिन शनिबार हो । तेन्जिङको नागरिकताको वैधताको प्रश्न यहिँबाट सुरु हुन्छ ।

हामीले यो विषयमा वडा नम्बर ६ का अध्यक्ष भुवन लामासँग कुरा गर्यौं । उहाँले २०६७ भदौ १७ देखिमात्र जन्मदर्ता सिफारिसको अधिकार वडामा आएको र त्यसअघि महानगरपालिकाबाट नै जन्मदर्ता प्रमाणपत्र दिने गरिएको जानकारी दिनुभयो । काठमाडौं महानगरपालिकाको पञ्जीकरण शाखा र वडा कार्यालयमा भएका रेकर्डहरुमा दावाको नाम र विवरण केही भेटिएन । दावाको जन्मदर्तामा राखिएको नम्बर पनि अर्कै व्यक्तिको भएको पञ्जीकरण शाखाका एक कर्मचारीले बताए ।

सार्वजनिक भएको तेन्जिङ् जन्मदर्ताको प्रमाणपत्रमा उल्लेख विवरण र वडा कार्यालयको भनाइले पुष्टि गर्छ कि तेन्जिङको जन्मतदर्ता फर्जी हो ।

अब उनको नागरिकताको कुरा गरौं । तेन्जिङको नागरिकता २०७९ सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी भएको देखिन्छ । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार नागरिकता प्राप्त गर्ने व्यक्तिले प्रस्तुत गरेको विवरण अनुसूचीमा रहने गर्छ । तर उक्त अनुसूची जेन-जी प्रदर्शनका क्रममा जलेकाले काठमाडौं जिल्ला प्रशासनसँग विवरण नभए पनि डिजिटल रेकर्डमा भने नागरिकता जारी भएको भेटिएको उहाँले जानकारी दिनुभयो ।

अब प्रश्न उठ्छ, काठमाडौं जिल्ला प्रशासनमा नागरिकताको रेकर्ड कसरी भेटियो ? जबकि नागरिकता लिन जन्मदर्ता प्रमाणपत्रमात्र होइन, वडा कार्यालयको सिफारिस पनि अनिवार्य मानिन्छ । अझै, जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता प्रमाणपत्र प्राप्त गर्न न्यूनतम ६ कागजात पेश गर्नुपर्छ । वंशजको आधारमा नागरिकता प्रमाणपत्र बनाउँदा बुझिने कागजातहरू भनेर जिल्ला प्रशासन कार्यालयको वेबसाईटमा राखिएको छ । 

ती कागजात हुन्-

* वडा कार्यालयबाट अनुसूची १ बमोजिमको सिफारिस* बाबु आमाको सक्कल नागरिकता प्रमाणपत्र वा आफ्ना वंशजभित्रका तीन पुस्ताभित्रको नातेदारको नेपाली नागरिकताको प्रमाणपत्र* तीन पुस्ताभित्रको नातेदारको नागरिकताको प्रमाणपत्र पेश भएको अवस्थामा उक्त नातेदारसँग नाता खुल्ने नाता प्रमाणित पत्र* जन्मदर्ता प्रमाणपत्र* बाबुआमाको विवाहदर्ता प्रमाणपत्र* बसाईँ सरी आएको हकमा बसाईँसराई प्रमाणपत्र, जग्गाधनी प्रमाण/घर निर्माण स्वीकृति पत्रं* शैक्षिक प्रमाणपत्र* जन्मको आधारमा नागरिकता प्राप्त गरेका सन्तानको हकमा बाबु र आमा दुबैको नेपाली नागरिकताको प्रमाणपत्र* कार्यालयले आवश्यक देखेको अवस्थामा स्थलगत सर्जमिन मुचुल्कालगायत अन्य कागजातहरू माग गरेर समेत थप बुझ्न सक्नेछ ।

तर काठमाडौं महानगरपालिका ६ का अध्यक्ष भुवन लामाका अनुसार दावाको नागरिकताका लागि वडा कार्यालयबाट सिफारिस भएको विवरण पनि भेटिएन।

अब अर्को प्रश्न : तेन्जिङका बुबा को हुन् ? उनको पारिवारिक पृष्ठभूमि के हो ?

तेन्जीङले प्रयोग गरिरहेको नागरिकता प्रमाणपत्रमा बाबुको नाम कृष्णबहादुर लामा उल्लेख छ । अनुसन्धानका क्रममा प्रहरीले कृष्णबहादुरलाई पनि भेट गरायो । तर दुवैले एक अर्कालाई चिनेनन् । प्रहरीसँग कृष्णबहादुरले तेन्जिङको नागरिकताबारे आफूलाई केही जानकारी नभएको दाबी गरे । जन्मदर्ताको रेकर्ड कतै छैन । सिफारिस पनि वडाले दिएको छैन । तर जिल्ला प्रशासन कार्यालयको रेकर्डमा भेटिने गरी तेन्जिङ दावाले कसरी पाए नागरिकता ? थप अनुसन्धानको विषय बनेको छ ।


Image

किरण पौडेल

पौडेल कान्तिपुर टेलिभिनजमा कार्यरत छन् ।