नेपाल प्रहरीकाे ३३औँ प्रमुखका प्रतिस्पर्धी को-कस्ता ?

कार्तिक १९, २०८२ |किरण पौडेल
नेपाल प्रहरीकाे ३३औँ प्रमुखका प्रतिस्पर्धी को-कस्ता ?

काठमाडौं । प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ सेवा अवधिका कारण यही कात्तिक २६ गते अनिवार्य अवकाशमा जाने भएपछि भावी नेतृत्वको दौडधूप सुरू भएको छ । 

३३औं महानिरीक्षकका लागि चार जना प्रतिस्पर्धी मैदानमा छन् । नेपाल प्रहरीमा अहिले ८ जना अतिरिक्त महानिरीक्षक भए पनि नेतृत्वका लागि दानबहादुर कार्की, राजन अधिकारी, मनोज केसी र सिद्धिबिक्रम शाहबीच प्रतिस्पर्धा छ । बाँकी चार जना एआईजी हालै मात्र बढुवा भएका हुन् । प्रतिस्पर्धामा देखिएका चार जनाको वरियता र अहिलेसम्मको कार्यसम्पादन कस्तो त छ ?

एआईजी दानबहादुर कार्की बरियताको पहिलो नम्बरमा हुनुहुन्छ । प्रहरी बरिष्ठ अपरीक्षक हुँदादेखिनै अन्य ३ प्रतिस्पर्धीभन्दा उहाँ बढुवा नम्बरका हिसाबले अगाडि हुनुहुन्छ । हाल उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुख रहेका कार्कीलाई प्रहरी संगठनमा निडर र स्वच्छ छविका अधिकृतका रूपमा चिनिन्छ । 

कार्कीले प्रहरी वरिष्ठ उपरीक्षक हुँदा काठमाडौं जिल्ला प्रहरी परिसरको कमाण्ड सम्हाल्नुभएको थियो । काठमाडौंको एसएसपी हुँदा ‘नक्कली भुटानी शरणार्थी प्रकरण’को अनुसन्धान र कानुनी कारबाहीको नेतृत्व गरेका कार्कीले डिआईजी रहँदा लुम्बिनी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

वरियताको दोस्रो नम्बरमा रहेका एआईजी राजन अधिकारी हाल नेपाल प्रहरीको मानव स्रोतसाधन विभाग प्रमुख हुनुहुन्छ । विभिन्न जिल्ला, प्रदेश तथा विभागको कमाण्ड सम्हालेका अधिकारी प्रहरी संगठनभित्र आफ्नो प्रचार नगर्ने छबि बनाएका अधिकृतका रूपमा चिनिनुहुन्छ । डिआईजी हुँदा अधिकारीले कोशी प्रदेश प्रहरी कार्यलयको कमाण्ड सम्हाल्नुभएको थियो । उहाँसँग अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा बसेर काम गरेको अनुभव पनि छ ।

त्यसैगरी वरियताको तेस्रो नम्बरमा रहेका मनोज केसी हाल केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुखको जिम्मेवारीमा हुनुहुन्छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख हुँदा केसीले नक्कली भुटानी शरणार्थी काण्डको अनुसन्धान गरेर चर्चामा आउनुभएको थियो । केसी र तत्कालिन काठमाडौं जिल्ला प्रहरी परिसर प्रमुख कार्कीको अगुवाईमा नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सुरू भएको थियो ।

आईजीपीका अर्का दाबेदार एआईजी सिद्धिविक्रम शाह हाल नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानको प्रमुख हुनुहुन्छ । प्रहरीभित्र समन्वयकारी प्रहरी अधिकृतको छबि बनाएका शाह अपराध अनुसन्धानमा दक्ष मानिनुनुहुन्छ । विशेष ब्यूरोमा रहेका बेला उहाँकै टोलीले तीनकुने आन्दोलनपछि भारतमा लुकेर बसेका दुर्गा प्रसाईंलाई काठमाडौं ल्याएको थियो ।

महानिरीक्षकको प्रतिस्पर्धामा रहेका कार्की, अधिकारी र केसी एकैपटक गत वैशाख १५ गते एआईजीमा बढुवा हुनुभएको हो । शाह भने गत जेठ १५ गते एआईजीमा बढुवा हुनुभएको हो । यसअघि प्रहरी प्रमुखको नियुक्ति बेलाबेलामा विवादित बन्ने गरेको थियो । 

सहकर्मी संगठन प्रमुख बन्दा अन्य प्रतिस्पर्धीहरूले राजीनामा दिने वा अदालतमा जाने गरेका थिए । यस पटक सुशासनको वकालत गरिरहेको सरकारले कस्तो व्यक्तिलाई प्रहरी संगठनको जिम्मेवारी दिने हो चासोका साथ हेरिएको छ ।


Image

किरण पौडेल

पौडेल कान्तिपुर टेलिभिनजमा कार्यरत छन् ।