विभिन्न जिल्लामा कात्तिक पूर्णिमा मेला, मनोकामना पूरा हुने विश्वासमा हजारौं श्रद्धालु सहभागी

कार्तिक १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
विभिन्न जिल्लामा कात्तिक पूर्णिमा मेला, मनोकामना पूरा हुने विश्वासमा हजारौं श्रद्धालु सहभागी

काठमाडौं । देशका विभिन्न स्थानमा कात्तिके पूर्णिमा मेला लागिरहेको छ ।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-६ पिपलडाँडामास्थित गौराती भीमेश्वर मन्दिरमा कात्तिक पूर्णिमाको अवसरमा मेला लागेको छ। यो मन्दिरमा हरेक वर्ष कात्तिक पूणिर्मादेखि पञ्चमीसम्म दर्शनार्थीको भिड लाग्ने गर्दछ। पूर्णिमाको दिन र रातभरी दर्शनार्थीहरू जगाराम व्रत बसेका छन् । यसरी व्रत बसेर पूजापाठ गरेमा पापमोचन हुनुको साथै चिताएको कुरा पुरा हुने विश्वास छ ।

यसैगरी काभ्रेको नमोबुद्ध नगरपालिका-११ स्थित बौद्ध तीर्थस्थल नमोबुद्धमा मङ्गलबार साँझदेखि जात्रा सुरू भएको छ। जात्राअन्तर्गत पितृको सम्झनामा बौद्ध धर्मावलम्बीहरूले ‘दीप प्रज्वलन’ गरेका छन् । शनिबार बिहानसम्म लाग्ने मेलामा परम्परागत गीत तथा नृत्य प्रस्तुत गर्नेहरूको पनि भीड लाग्ने गर्दछ। नमोबुद्ध गुठीका अध्यक्ष लोप्साङ बज्र लामाका अनुसार मेला अवधिभर पितृमोक्ष तथा आत्मा शान्तिका लागि बत्ति बाल्ने परम्परा रहँदै आएको छ । विशेषगरी तामाङ र नेवार समुदायका बौद्ध धर्मावलम्बीहरूले नमोबुद्ध मेला भर्ने गरेका छन्।

भक्तपुरका नेवार समुदायले बुधबार सकिमना पुन्ही मनाएका छन् । बिहानै मकैभटमासलगायतका गेडागुडी, पिँडालु र सखरखण्डसहित विभिन्न मन्दिरमा पूजा गरी साँझ टोलटोलमा अन्न र गेडागुडीबाट देवदेवी र मठमन्दिरको चित्र बनाएर प्रदर्शनी गरी मनाइएको हो । पर्वमा दाफाभजनले विभिन्न बाजा बजाएर भजनका रागहरू गाउने गरिन्छ ।

कात्तिक पूर्णिमाका अवसरमा सिरहा र धनुषाको सीमामा बग्ने कमला नदीमा हजारौं श्रद्धालुले स्नान गरेका छन् । कमलाका विभिन्न घाटमा बुधबार एकै दिनमा हजारौं श्रद्धालुले स्नान गरेका हुन् । प्रत्येक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन कमलाको उत्तरवाहिनी, सारश्वर, फूलबरिया, इनर्वा लगायतका विभिन्न घाटमा भारतसहित नेपालका विभिन्न जिल्लाका श्रद्धालुहरू आएर स्नान गर्छन् । कमला स्नान गर्न टाढाका अधिकांश श्रद्धालुहरू मङ्गलबार साँझदेखि नदी तटमा आएर बास बसेका थिए ।

चिच्चाएर वर माग्ने पाल्पाको कोलडाँडास्थित सत्यवतीदेवी मेलामा डेढ भन्दा धेरै श्रद्धालुले अवलोकन गरेका छन् । कात्तिक १५ गतेदेखि १९ गतेसम्म सत्यवती तालमा मेला भर्न श्रद्धालु पुग्ने गर्छन् । कात्तिककै पूर्णिमा परेकाले यस वर्ष श्रद्धालुको धेरै भिड बढेको थियो । सत्यवती तालमा कानले नसुन्ने देवी रहेको र चिच्चाएर वर माग्दा मनोकांक्षा पूरा हुन्छ भन्ने जनविश्वासले मध्यरातमा चिच्याएर वर माग्ने प्रलचन छ ।

सुदूरपश्चिमकै प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिर डडेल्धुरामा 'देहिजात' मेला सम्पन्न भएको छ । प्रत्येक वर्ष कार्त्तिक शुक्ल चतुर्दशीको रा छचोडा, खनमडा, दुमडा र जिलोडा भ्राण-भण्डारबाट देउरो भगवती मन्दिरमा लगिन्छ र कार्तिक शुक्ल पूणिर्मा दिन मेला लाग्ने गर्दछ । 

उग्रतारा मन्दिरमा पूणिर्माको भेला भर्न सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै छिमेकी भारतबाट समेत ठूलो संख्यामा श्रद्धालु पुग्ने गरेको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले जानकारी दिनुभयो । यसपटक ५० हजार दशर्नार्थीले मेला दर्शन गरेको उग्रतारा क्षेत्र विकास समितिले जानकारी दिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.