
काठमाडौं । भदौ २३ गतेको जेन-जी आन्दोलन र त्यसपछिका घटना छानबिन गर्न गठन भएको जाँचबुझ आयोगले नख्खु कारागारबाट बाहिरिनुको कारण र त्यहाँ भएको आगजनीबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान लिएको छ ।
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई आयोगले बुधबार सिंहदरबारस्थित कार्यालयमै बोलाएर बयान लिएको हो । लामिछानेलाई नख्खु कारागारमा आगजानी तोडफोडबारे तपाइँलाई के कति जानकारी छ भनेर सोधेको थियो । यस्तै कारागारबाट निस्कँदा तयार पारेको पत्रको वैधानिकताबारे पनि सोधिएको आयोग श्रोतले जनाएको छ । तर लामिछानेले भने आफू निर्दोष भएको दाबी गर्नुभएको छ ।
आयोगका सदस्य विज्ञानराज शर्माले भने लामिछानेसँग नख्खु कारागारसँग सम्बन्धित विषयमा बयान लिएको जानकारी दिए पनि प्रश्न र जवाफबारे खुलाउन चाहनु भएन । आयोगले कैदीबन्दी भागेको र कारागारभित्र भएको तोडफोड र आगजनीबारे नख्खु कारागारका प्रमुख सत्यराज जोशीसँग यसअघि नै बयान लिइसकेको छ ।
आयोगले जोशीसँग रास्वपा सभापति लामिछानेदेखि जनकपुर बमकाण्डका मुख्य योजनाकार ठहर भएका सञ्जय साहसहित कैदीबन्दीका बारेमा सोधेको थियो ।