लुम्बिनीमा बौद्ध धर्मावलम्बीको महत्वपूर्ण पर्व चिवरदान सम्पन्न

धेरै श्रीलंकाली उपासकहरू लुम्बिनीमा
कार्तिक १९, २०८२ |मनोज पौडेल
लुम्बिनीमा बौद्ध धर्मावलम्बीको महत्वपूर्ण पर्व चिवरदान सम्पन्न

लुम्बिनी । लुम्बिनीमा बौद्ध धर्मावलम्बीको महत्वपूर्ण पर्व चिवरदान सम्पन्न भएको छ । 

तीन महिने वर्षाबास सकिएपछि असोज पूर्णिमादेखि कात्तिक पूर्णिमा चिवरदान उत्सव सकिन्छ । चिवरदानमा सहभागी हुन धेरै श्रीलंकाली उपासकहरू लुम्बिनी आएका छन् । कठिन चिवर दान कसरी गरिन्छ त ? श्रीलंकाबाट आएका दुई टोली लुम्बिनीमा आयोजित चिवरदानमा सहभागी भए । 

महाबोधी सोसाइटी अफ इण्डिया लुम्बिनी शाखामा आयोजित कार्यक्रममा ४७ जना श्रीलंकाली उपासक सहभागी थिए । त्यस्तै नवमैत्री महाविहारमा आयोजित चिवरदानमा अष्ट्रेलियामा बस्ने गैरआवासीय श्रीलंकन ८ र श्रीलंकाकाबाट आएका ७ गरी १५ जना उपासक सहभागी भए ।

चिवरदान दुई दिनको हुन्छ । पहिलो साँझ मायादेवी मन्दिर र विहारमा महापरित्राण पाठ गरिन्छ । त्यसक्रममा मायादेवी मन्दिरमा नेपाली, श्रीलंका, म्यानमार, जापान र थाई भिक्षुले महापरित्राण पाठ गरे । अर्को दिन बिहान उनीहरूले श्रीलंकाबाट ल्याइएको चिवरलाई पवित्र बाकसमा राखी सिंगारेर पवित्र अष्टधातुसहित मायादेवी मन्दिरमा लगी पूजाआजा गरे ।

दुवै दिन शोभायात्रा निकालेर बाजागाजासहित उपासकहरूले मायादेवी मन्दिर र पुष्करणी पोखरीमा पूजाआजा गरे । शोभायात्रा निकाल्दा श्रीलंकाबाट ल्याएको क्याण्डियन बाजा बजाउँदै नाच्दै पुगेका थिए । पवित्र मानिने क्याण्डियन बाजा र वाद्ययवादकलाई उनीहरूले श्रीलंकाबाटै ल्याएका थिए ।

दोस्रो दिन बिहान मायादेवी मन्दिरबाट फर्केर बिहार मन्दिरमा कठिन पूजा सम्पन्न गर्नुअघि भिक्षुले शील प्रदानसँगै धर्मदेशना गरे । यसपछि वर्षाबास बसेका भिक्षुलाई पहेँलोवस्त्र अर्थात् चिवर र भिक्षा पात्र दान गरियो । उपासकहरूले श्रीलंकाबाटै ल्याएको चिवरसँगै अष्ट परिष्कार दान गरे । भिक्षुले लगाउने पहेँलोवस्त्र चिवर हो भने अष्ट परिष्कारमा कपाल-दाह्री खौरने समान, कपडा, सियोधागो, छातालगायतका आठ थरी सामग्री हुन्छन् ।

तीन महिनासम्म भिक्षुहरू निक्कै कठिन नीतिनियम पालना गरेर तीन महिने वर्षाबास सम्पन्न गर्छन् । वर्षाबास सकिएको एक महिनाभित्र चिवर दान गरिने भएकाले यसलाई कठिन दान भनिएको हो । चिवर दान गर्नाले उपासकले मृत्युपछि दुर्गतिमा जानु नपर्नेलगायतका फल प्राप्त हुने बौद्धग्रन्थमा उल्लेख छ । 

लुम्बिनीका धेरै बिहारहरूमा कठिन दान सकिएको छ । यस वर्ष चिवर दान गर्न श्रीलंका, थाइल्यान्ड र म्यानमारबाट गरि डेढ सयभन्दा धेरै उपासकहरू लुम्बिनी आएका थिए ।


Image

मनोज पौडेल

पौडेल कान्तिपुर टीभीका कपिलवस्तु संवाददाता हुन् ।