
काठमाडौं । हिमाली क्षेत्रको घुमफिरका लागि निस्कने पर्यटक जोखिम र चुनौतीको सामना गर्न मानसिकरूपमा तयार भएर निस्कन्छन् ।
तर पनि उनीहरूको यात्रालई सहज बनाउन सरकारी प्रयास भने हुनुपर्छ। गत वर्षको बाढीले दोलखाको गौरीशंकर गाउॅंपालिका-९ स्थित गौरीशंकर पदमार्गको धेरै भू-भाग र पुल बगायो । पुल र बाटो नहुँदा जोखिमयुक्त बनेको यो पदमार्ग सञ्चालनमा ल्याउन गाउॅंपालिका र यहाँका स्थानीयले ठाउॅं-ठाउॅंमा अस्थायी बाटो र साँघु बनाएका छन् ।
प्रदेश र संघीय सरकारले यस्ता पर्यटकीय पैदलमार्ग पुनर्निर्माणमा बेवास्ता गर्दा पर्यटक र स्थानीय बासिन्दा जोखिम मोलेरै यात्रा गरिरहेका छन् । चार हजार पाँचसय ८० मिटरको उचाइमा रहेको छ । रोल्पा ताल बागमती प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य हो ।
दोलखाको गौरीशंकर गाउॅंपालिका वडानम्बर-९ स्थित रोल्वालिङ भ्यालीअन्तर्गत पर्ने यो ताल पुगेका पर्यटक यहाँको अर्को प्रशिद्ध ताल दुधकुन्ड हुँदै सोलुखुम्बुको सगरमाथा बेसक्याम्प सम्म पुग्ने गर्छन् । साहसिक र शान्त पदमार्गका रूपमा यो क्षेत्र स्वदेशी तथा विदेशी पर्यटकहरूका माझ परिचित छ ।
पदमार्गमा निर्माण गरिएका झोलुङ्गे पुल अघिल्लो वर्ष रोल्वालिङ खोलामा आएको बाढीले बगाउॅंदा यहाँको यात्रा कष्टकर बनेको छ । वडा कार्यालयको सहयोगमा स्थानीयले बनाएको साँघुमा पर्यटक र स्थानीय बासिन्दा जोखिम मोलेरै यात्रा गरिरहेका छन् । पदमार्गलाई व्यवस्थित पार्न झोलुङ्गे पुल निर्माण गर्न यहाँका स्थानीय व्यवसायीले तीनै तहका सरकारलाई आग्रह गरेका छन् ।
सिजन सुरू हुँदा पर्यटकका भारी बोकेर सिमीगाउॅं हुँदै ना गाउॅंसम्म पुग्दा यहाँ भारी बोक्ने भरियाले दैनिक तीन हजार रूपैयाँ कमाउॅंछन् । चार दिन भारी बोकेर फर्कने भरियाले ६ दिनको ज्याला पाउने गरेका छन् । यो पदमार्गले यहाँका युवा र स्थानीयलाई स्वदेशमै रोजगारी दिलाएको छ ।
दोलखाको छतछतबाट पदमार्ग सुरू हुन्छ । पदमार्गको पहिलो गन्तव्य सिमीगाउॅं हो । सिमीगाउॅं हुँदै सुर्मुचेसम्म ठाडो उकालोको यात्रा गर्दा तामाकोशीको गड्गडाहट आकर्षक संगीतको धुन झै लाग्न थाल्छ । सुर्मच्चेबाट क्याल्चे हुँदै डोगाङसम्मको यात्रा पहिलो दिनको हुनेछ ।
पहिलो दिन सिमीगाउॅंमै बास बस्ने पर्यटक दोस्रो दिन भने थाङदिङ पुग्न सक्छन् । यहाँ पुगेपछि भने बिहानीको झुल्के घामको स्पर्सले हिमाल खुलेको देखिन्छ । औलौकिक हिमाली दृश्यले यात्राको थकान मेटाउॅंछ । हिड्न सक्ने पर्यटक दोस्रो दिनमै पर्बतारोहीहरूको गाउॅं बेदिङ वा ना पुग्न सक्छन् । यी दुबै गाउॅंमा ६५ जना हिमाल आरोहीहरू बसोबास गर्छन् । ती मध्य ९ जना महिला पर्बतारोही छन् ।
बेदिङ र ना गाउॅं पुग्ने पर्यटकले नजिकबाट हिमाललाई स्पर्स गरेको अनुभूती गर्दछन् । पाहाडबाट झरेको झर्ना रोल्बालिङमा नदीमा मिल्दाको दृश्यले थकित तनलाई आल्लादित बनाउॅंछ । पन्छीहरू निलो आकाशमा उडीरहेका, बादलहरू हिमालसँग लुकामारी खेलिरहेका दृश्य हेर्दै ना गाउॅंबाट २ घन्टाको पैदल हिडाइपछि तेस्रो दिनमा च्छो रोल्पा पुगिन्छ ।
हिउॅं र हिमालको सामिप्यताले पर्यटकलाई रोमाञ्चित बनाउॅंछ । वर्षाका कारण क्षति पुगेको यो पदमार्गलाई व्यवस्थित बनाउन सरकारी प्रयास रहनुपर्ने यहाँका स्थानीयको माग छ ।