
धनकुटा । मुख्य थातथलो धनकुटा भएका अल्पसंख्यक आठपहरिया समुदायको मंसिरे चाड सुरू भएको छ ।
१५ दिनसम्म मनाइने यो चाडमा आठपहरिया समुदायले जन्म र मृत्यु सम्मका सबै परम्परागत संस्कार पुरा गर्छन् । समुदायको सबैभन्दा ठूलो चाड भएकाले यो अबसरमा उनीहरू पितृकार्य र उत्सव मनाउन जन्मथलोमा भेला हुने गरेका छन् । शुक्रबार माङला उठाएर चाडको औपचारिक सुरूवात गरेका आठपहरिया समुदायका सदस्यहरू आइतबार बिहानबाट दुःख बगाउन चारदिन लामो कष्ठकर पैदलयात्रा निस्किएका छन् ।
आफ्ना दिवंगत आमाबाबु र परिवारका सदस्यको बरखी बारेकाहरू सेतो कपडामा दुःख बगाउन धनकुटे खोला, तमोर नदी, धारापानीहुँदै आज राति आहालेको सिमलीबासमा बास बसेर सोमबार बिहान कोकाहा खोला झर्छन् । दाह्री, कपाल काटेर परम्परा अनुसार कोकाहा खोलामा पितृउद्धारको कर्म पुरा गर्छन् ।
यसलाई उनीहरु दुःख बगाएको भन्छन् । मंगलबार बराहक्षेत्रको दर्शनगरी पैदलै घर फर्कन्छन् र धनकुटा तरेर भगुवाखोलाको बगरमा रात बिताउँछन् । बुधबार मात्रै उनीहरू घर पुग्छन् । यात्रा अबधिका तीनरात खुला आकास मुनि बिताउँछन् । छानो हालेको ठाउँमा बास बस्न नहुने उनीहरूको दैवीक मान्यता छ । बरखी बारेकाहरूलाई यात्राका क्रममा परिवारका अन्य सदस्य र बराहक्षेत्र दर्शनमा जाने श्रद्धालुले साथ दिने गरेका छन् ।
१५ दिनको चाड अबधिमा उनीहरू वर्षभरी मृत्यूभएका आफ्ना आफन्तको मृत्यू संस्कार पुरा गर्छन् । जुठो सकेर शुभकामना साटासाट गर्ने चलन छ । भावी पुष्ताको उन्नतीको कामना गर्दै घर-घर डुलेर समुहमा ढोल र मादल बजाउँदै मारूनी गाउने, नाच्ने चलनले गाउनै गुञ्जयमान बन्छ । परिवारमा जेठो सन्तानका रूपमा छोरा जन्मिएको भए यहि मौकामा उनीहरू हर्षबढाइ पनि गर्छन् ।
धनकुटा नगरपालिकाको भीरगाउँ, बेलहरा, सान्ताङ्ग, याक्त्ते, खाम्बेला, डाँडागाउँ, बडहरे, फुजुलुक, कर्मिटार र बिहीबारेहाट लगायतका क्षेत्रमा आठपहरिया समुदायको मुख्य बसोबास छ । उनीहरू वैशाखमा बिशु र भदौमा धुमधामका साथ न्वागी चाड मनाउँछन् ।