
इलाम । इलामको माङसेबुङ गाउँपालिकाले 'लिम्बू भाषा'लाई सरकारी कामकाजी भाषाका रुपमा कार्यान्वयमा ल्याएको छ।
यससँगै माङसेबुङ 'लिम्बू भाषा'लाई सरकारी कामकाजी भाषा लागू गर्ने पहिलो पालिका बनेको छ। कोशी प्रदेश प्रमुख परशुराम खापुङको उपस्थितिमा माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले 'लिम्बू भाषा' कामकाजको भाषाको रुपमा लागू भएको घोषणापत्र वाचन गरेर औपचारिक रुपमा कार्यान्वयनमा ल्याइएको हो ।
माङसेबुङ गाउँपालिकामा बहुसंख्यक नागरिकले बोल्ने 'लिम्बू भाषा'-किरात सिरिजङ्गा लिपिमा लेखिनेलाई सरकारी कामकाजको भाषाको रुपमा कार्यान्वयनमा ल्याइएको हो। २०८३ वैशाख ११ गतेको ६६औं कार्यपालिका बैठकले लिम्बू भाषालाई सरकारी कामकाजी भाषाको रुपमा प्रयोग गर्ने निर्णय गरेको थियो।
यो निर्णयले स्थानीय उत्साहित भएका छन्। अबदेखि गाउँपालिका र मातहतका सबै सरकारी कार्यालयहरुमा प्रयोग हुने बोर्ड, लेटरप्याड, फारामलगायतका सामग्रीमा नेपाली भाषासँगै लिम्बू भाषा प्रयोग गरिने छ । माङसेबुङ गाउँपालिकाले नेपालको संविधानको धारा ३, ६, ७- २ तथा धारा ३२- १ ले सुनिश्चित गरेको भाषा तथा संस्कृतिसम्बन्धी मौलिक हकको कार्यान्वयन गर्ने उद्देश्यले संविधानको अनुसूची-८ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११- फ- १ बमोजिम स्थानीय तहलाई प्राप्त अधिकार प्रयोग गर्दै 'लिम्बू भाषा'लाई कामकाजी भाषाका रुपमा कार्यान्वयन गरिएको पालिकाको भनाइ छ ।
लिम्बू भाषा सरकारी कामकाजका रुपमा कार्यान्वयन सहजीकरणका लागि पाँचौं तहको भाषिक सहजकर्ता करारमा नियुक्ति गरेको छ । भाषिक सहजकर्ताले नेपाली र लिम्बू दुवै भाषामा अनुवादकको काम गर्नेछ। राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार १६ हजार आठ सय १० जनसंख्या रहेको माङसेबुङमा ४२ दशमलव ८३ प्रतिशत लिम्बू र ३३ दशमलव ६ प्रतिशत राई जातिको बसोबास छ।
जातीय र भाषिक बाहुल्यताका आधारमा माङसेबुङले २०७५ साल मङ्सीर १३ गतेदेखि ५ नं. वडा कार्यालयमा 'लिम्बू भाषा'लाई कामकाजी घोषणा गरी लागू गरिसकेको थियो।