
काठमाडौं । काठमाडौंको क्षेत्र नम्बर ५ को चुनाव यसपटक विरासत र वर्चस्वको लडाईँ हुनेछ। एमाले नेता ईश्वर पोखरेल र कांग्रेस महामन्त्री प्रदीप पौडेल तथा पञ्चायत कालदेखि गणतन्त्रसम्म चुनाव लड्दै आएका कमल थापा चुनावी मैदानमा छन् । त्यसैगरी पहिलो पटक उम्मेदवार बनेका सस्मित पोखरेल, श्रीराम गुरुङ र निशा अधिकारीसम्म उम्मेदवार छन् । पार्टी नेतृत्वका लागि भएको प्रतिस्पर्धामा भोगेको हारको बदलामा मतदाताबाट अनुमोदित हुने पोखरेलको दाउ छ। पौडेलबाट पार्टीमा रुपान्तरणको प्रमाण पेश गर्ने प्रयास हुनेछ। रास्वपा, उज्यालो नेपाल र गतिशिलजस्ता पार्टीले समय नयाँ पुस्ताको हो भन्ने दलिल गर्नेछन् भने कमल थापा एकपटक पुन जुर्मुराउने प्रयासमा। काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये एउटा हेर्न लायक प्रतिस्पर्धा यहाँ हुनेछ।
नेकपा एमालेका नेता ईश्वर पोखरेलका लागि काठमाडौं क्षेत्र नम्बर ५ ले कहिले स्वादिलो जीत दिलायो, कहिले नमिठो हार। २०७९ को आमनिर्वाचन उहाँका लागि त्यस्तै नमिठो भयो। तनहुँको राजनीतिबाट काठमाडौं सरेका कांग्रेस नेता प्रदीप पौडेलसँग पोखरेल पराजित हुनुभएको थियो। २०५६ सालको निर्वाचनमा पहिलोपटक यो क्षेत्रमा जीत हासिल गरेका हुन् पोखरेलले। पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको राजनीतिक उत्तराधिकारीका रुपमा पोखरेललाई यहाँका मतदाताले जिताएका थिए। तर २०६४ र २०७० को निर्वाचनमा उहाँ कांग्रेस नेता नरहरि आचार्यसँग पराजित हुनुभयो । त्यसपछि २०७४ मा कांग्रेस नेता प्रकाशशरण महतलाई पराजित गर्दै पुनः विजयी बन्नुभएका पोखरेललाई अघिल्लो चुनाव सुखद रहेन। यसपटक फेरि उनै प्रदीप पौडेलले पोखरेललाई चुनौती दिनुभएको छ।
२०७९ देखि पार्टीमासमेत करिबकरिब भूमिकाविहिन पोखरेल पार्टीको हालै सम्पन्न महाधिवेशनमा अध्यक्ष पदको प्रतिस्पर्धामा पराजित हुनुभयो। तर २०७९ को चुनाव जितेपछि प्रदीप पौडेल स्वास्थ्यमन्त्री भइसक्नुभयो। पार्टीको विशेष महाधिवेशनले उहाँलाई महामन्त्री निर्वाचित गरिसक्यो। संघीय निर्वाचनको पहिलो प्रयासमै हेभिवेट मानिएका एमालेका पोखरेललाई हराएका प्रदीप पौडेलको मनोबल यसपटक उच्च छ। तर यसपटक पौडेलले यस क्षेत्रको जनप्रतिनिधि र मन्त्रीको रुपमा के-कति काम गर्नुभयो भन्ने प्रश्नको जवाफ दिनुपर्ने छ ।
पोखरेल र पौडेल दुबैसँग पुरानो दल हुनुको ब्यागेज पनि छ। २०७४ मा पोखरेलका लागि र २०७९ मा पौडेलका लागि मत मागेकी अधिवक्ता कल्पना शर्मा पनि यसपालि नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार हुनुहुन्छ जसले योपटक आफ्नै लागि मत माग्दै हुनुहुन्छ। माओवादीको पृष्ठभूमि, एकतापछि एमालेमा रहेको अनुभव, अनि पोखरेल र पौडेल दुबैलाई जित्न सघाएको अनुभवले शर्मालाई कति सहयोग होला ? यी तिनैजना उम्मेदवारका लागि तगारो हाल्ने प्रयास गर्नेछन्, राष्ट्रिय स्वतनत्र् पार्टीका उम्मेदवार सस्मित पोखरेलले। बालेन्द्र शाहको सचिवालयमा काम गर्नुभएका पोखरेलसँग २०७९ को निर्वाचनमा प्रदेशसभाको उम्मेदवार बनेर पाँचौं स्थानमा समेटिएको अनुभव छ। पोखरेल यसपटक अघिल्लो निर्वाचनमा रास्वपाका उम्मेदवारले प्राप्त गरेको ५ हजार ४ सय तथा समानुपातिकतर्फको ११ हजार ६४७ मतसँगै बदलिँदो शहरी मनोविज्ञानको बलमा जित निकाल्ने दाउमा हुनुहुन्छ ।
नायिका निशा अधिकारी चलिचित्र क्षेत्रबाट राजनीतिमा प्रवेश गरेर गतिशील लोकतान्त्रिक पार्टीको उम्मेदवार बन्नु भएको छ । गतिशिल पार्टी आफैं पहिलोपटक चुनावमा होमिएको हो। सगरमाथा आरोहणको समेत अनुभव भएकी निशालाई चुनाव जित्न नयाँ उम्मेदवार र नयाँ पार्टी भएकैले पनि सगरमाथा चढेजत्तिकै कठिन हुने पो हो कि ?
पर्यटन, प्रविधि, ऊर्जा र कृषि क्षेत्र सुधारका लागि भन्दै कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट उद्यमी समेत रहेका श्रीराम गुरूङ प्रतिस्पर्धामा हुनुहुन्छ । २०७९ को निर्वाचनमा उम्मेदवार बन्नुभएका उहाँले यसपटक 'श्री फर समृद्धि’ नारा बनाउनुभएको छ। अघिल्लोपटक क्यामरा चुनाव चिन्ह लिएर यसै क्षेत्रमा भिडेका गुरुङको क्यामरामा २ हजार ७६१ मत परेको थियो। काठमाडौं ५ मा जय मातृभूमि पार्टीबाट बसन्तराज कुँवर, श्रम संस्कृति पार्टीबाट अमित थापालगायत दलका तर्फबाट २० जना र पाँच स्वतन्त्र गरी २५ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
काठमाडौं ५ मा काठमाडौं महानगरपालिकाका २, ३, ४, ५ तथा बुढानिलकण्ठ नगरपालिकाका ३, ४, ५, ६ र ७ नम्बर वडाहरू पर्छन् । त्यस्तै टोखा नगरपालिकाका २ देखि ७ नम्बर वडा पनि यही क्षेत्रमा पर्छन्, जहाँ ७८ हजार १४४ मतदाता छन् । क्षेत्रभित्रका दुई नगरप्रमुख, दुई उपप्रमुख र ११ वटा वडा एमालेले जितेको छ । यस क्षेत्रमा नगरलाई व्यवस्थित गर्नुपर्ने, सडकको स्तरोन्नति, खानेपानी, ढल तथा फोहोर व्यवस्थापन, सार्वजनिक शौचालय, व्यवस्थित प्रतीक्षालय, पार्किङस्थल र व्यायामशाला लगायतमा मतदाताको अपेक्षा छ ।
एमालेले स्थानीय तहको मतलाई आधार मानेर आफू बलियो भएको तर्क गर्दा काँग्रेस पनि विगतका जितका आधारमा आफ्नै जित हुने दाबी गरिरहेको छ। जेन-जी आन्दोलनपश्चात् फेरिएको राजनीतिका कारण रास्वपा र उज्यालो नेपाल पार्टीलेसमेत जितको दावी गरिरहेका छन् । यसबाहेक चुनाव लड्नकै लागि राजेन्द्र लिङ्देनसँग एकता गरेका पुराना नेता कमल थापा यहाँ जुर्मुराउने प्रयासमा हुनुहुन्छ।