भूराजनीतिक सकसमा निसास्सिएको विश्वकप

माघ २३, २०८२ |सविना कार्की
भूराजनीतिक सकसमा निसास्सिएको विश्वकप
मुम्बई । “भारत र पाकिस्तानबीच अब प्रतिस्पर्धा रहेन ।” सन् २०२५ को एसिया कपमा भारतीय टोलीका कप्तान सूर्यकुमार यादवले पाकिस्तानविरुद्धको लगातारको जितपछि दिएको अभिव्यक्ति हो यो । हुन पनि, टी-२० कै आँकडा मात्र हेर्ने हो भने, पछिल्ला ५ खेलमा नतिजा भारतकै पक्षमा छ । एकदिवसीयमा त अन्तिमपटक पाकिस्तानले जितेकै करिब ९ वर्ष हुन लागिसक्यो ।
तथ्यांकले त भारत-पाकिस्तानबीच मैदानमा प्रतिस्पर्धा सकिँदै गएको नै देखाउँछ । तर १९४७ पछि विभक्त यी दुई देशबीचको राजनीतिक प्रतिस्पर्धा भने उन्मूलन हुने छाँटकाँटै छैन । चिन्ताको विषय चाहिँ के हो भने यो प्रतिद्वन्द्विता अब सुन्दर खेलमा विषाक्तरूपमा मिसिँदै छ । र यही परिप्रेक्क्षमा सुरु हुँदै छ, दशौँ संस्करणको टी-२० विश्वकप ।

भारत र श्रीलंकाको संयुक्त आयोजनामा हुन गइरहेको यो विश्वकप शनिबारबाट सुरु हुँदै छ । तर विश्वकप सुरु हुँदै गर्दा बहस- उपाधि कसले जित्ला भनेर होइन, भारत-पाकिस्तानबीचको खेल के हुन्छ भन्नेमा केन्द्रित छ । बंगलादेशको समर्थनमा पाकिस्तानले भारतसँगको समूह चरणको खेल बहिष्कार गरेसँगै विश्वकप पेचिलो मोडमा पुगेको छ । 

बंगलादेशले प्रतियोगितामा सहभागी नहुने निर्णय गरेकाले उसको स्थानमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले स्कटल्यान्डलाई प्रवेश गराइसकेको छ । यस्ता अनेक कारणले यो विश्वकप भूराजनीतिक सकसमा निसास्सिएको छ ।

भारत-पाकिस्तानबीच १५ फेब्रुअरीमा कोलम्बोमा समूह चरणको खेल हुने तालिका छ । तर पाकिस्तान सरकारले विश्वकपमा सहभागी भए पनि भारतसँग नखेल्ने घोषणा गरेकाले यो हाई प्रोफाइल खेल अनिश्चयको बन्दी बनेको छ । पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले बंगलादेशलाई साथ दिन यो निर्णय लिएको प्रतिक्रिया दिएका छन् ।

बंगलादेशको संघर्ष नयाँ भए पनि पाकिस्तानको संघर्ष विगतकै पुनरावृत्ति हो । सन् २००८ यता भारतले पाकिस्तानमा खेलेको छैन । सन् २००९ मा लाहोरमा श्रीलंकाली टोली सवार बसमा गोलीबारी भएपछि पाकिस्तानले सन् २०१९ सम्म आईसीसीका कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्नै पाएन । यता सन् २००८ को मुम्बई आक्रमणपछि त पाकिस्तानी खेलाडी २००९ यताका आईपीएलमा पनि प्रतिबन्धित भए ।

गत वर्ष च्याम्पियन्स ट्रफीका लागि भारतले पाकिस्तान भ्रमण गर्न अस्वीकार गरेपछि खेल यूएई सारिएको थियो । त्यसपछि यी दुई देशमा आईसीसीको प्रतियोगिता आयोजना भए तटस्थ भूमिमा खेलाइने सम्झौता भएको थियो । सोही अनुरूप यो विश्वकपमा पाकिस्तानका खेल श्रीलंकामा हुँदै छ ।

यता भारतीय टोलीका कप्तान सूर्यकुमार यादवले पाकिस्तानसँगको खेल आफ्नो हातमा नरहेको बताएका छन् । बिहीबार मुम्बईमा भएको क्याप्टेन्स मिटमा सूर्यकुमारले भने - “कोलम्बोका लागि हाम्रो फ्लाइट बुक भइसकेको छ ।”

यस्तै पाकिस्तानका कप्तान सलमान अली आघाले पनि आफ्नो नियन्त्रणमा केही नरहेको उल्लेख गरेका छन् । उनले भनेका छन् - “हाम्रो हातको कुरा होइन यो, सरकारको निर्णय हो ।”

के हो बंगलादेशसँगको विवाद ?

भारत र बंगलादेशबीच जारी तनावका कारण आईपीएल टिम कोलकाता नाइट राइडर्सले बंगलादेशी खेलाडी मुस्ताफिजुर रहमानलाई ‘रिलिज’ गर्‍यो । यो निर्णयबाट क्रुद्ध बंगलादेशले भारत भ्रमण नगर्ने भन्दै आफ्नो सबै खेल श्रीलंकामा सार्न आईसीसीलाई आग्रह गरेको थियो । तर आईसीसीले बंगलादेशको आग्रह मानेन । बरु उसको स्थानमा स्कटल्यान्डले प्रवेश पायो । यही विषयमा पाकिस्तानले बंगलादेशलाई साथ दिँदै भारतसँगको खेल बहिष्कार गरेको हो । योसँगै बंगलादेशले पहिलोपटक टी-२० विश्वकप पनि गुमाएको छ ।

के भारतले उपाधि रक्षा गर्ला ?

विवादै विवादले घेरिए पनि यसपटक विश्वकपको कौतुहलको मुख्य प्रश्न हो- के भारत च्याम्पियन बन्ला ? यो प्रश्न दुईवटा कारणले जायज पनि छ । पहिलो, अहिलेसम्म कुनै पनि आयोजक देशले विश्वकप जितेको इतिहास छैन । दोस्रो, कुनै टिमले उपाधि रक्षा गरेको पनि छैन । योपटक भारतलाई दुवै इतिहास बनाउने सुनौलो अवसर छ ।

भारतले सन् २००७ मा दक्षिण अफ्रिकामा भएको टी-२० विश्वकपको प्रथम संस्करणको उपाधि जितेको थियो । तर त्यसपछि दोस्रो उपाधिका लागि १७ वर्ष कुर्नुपर्‍यो । सन् २०२४ मा रोहित शर्माको कप्तानीमा भारतले दोस्रोपटक दक्षिण अफ्रिकालाई हराउँदै टी-२० विश्वकपको उपाधि खडेरी तोडेको थियो । त्यसयता भारत च्याम्पियन भएको केवल १९ महिना मात्र भएको छ । पहिलोबाट दोस्रो उपाधिका लागि १७ वर्षको तपस्या गरेको भारतले के १९ महिनामै उपाधि रक्षा गर्न सक्ला त ? अहिले यो पनि चासोको विषय छ ।

प्रदर्शनका हिसाबले पनि भारत उपाधिको प्रमुख दाबेदार हो । विगत दुई वर्षयता भारतले टी-२० मा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । अस्ट्रेलिया र दक्षिण अफ्रिकाविरुद्धको अवे सिरिज जितेको भारत गत सेप्टेम्बरमा सम्पन्न एसिया कपको पनि विजेता टोली हो । यस्तै विश्वकपको तयारीस्वरूप खेलिएको न्युजिल्यान्डसँगको सिरिज पनि भारतकै नाममा रह्यो ।

यो विश्वकपमा भारत समूह ‘ए’मा छ । यो समूहमा पाकिस्तान, अमेरिका, नामिबिया र नेदरल्यान्ड्स छन् । शनिबार मुम्बईको वाङ्खडे स्टेडियममा अमेरिकासँग खेल्दै भारतले विश्वकप यात्रा सुरु गर्नेछ ।

केन्द्रमा नेपालको प्रदर्शन

भूराजनीतिमा जेलिएको यो विश्वकप नेपालीहरूका लागि भने उत्सवको रूपमा रहेको छ । नेपाल लगातार दोस्रो र समग्रमा तेस्रोपटक टी-२० विश्वकप खेल्दै छ । त्योभन्दा रोचक त नेपालले समूह चरणमै दुईपटकको च्याम्पियन वेस्ट इन्डिज र इङ्ल्यान्डसहित बंगलादेशको स्थानमा आएको स्कटल्यान्ड र विश्वकपमा डेब्यु गरिरहेको इटालीसँग समूह ‘सी’मा भिड्दै छ ।

रोहित पौडलको टिमले आइतबार वाङ्खडेमा इङ्ल्यान्डविरुद्ध समूहको आफ्नो पहिलो खेल खेल्दै छ । टी-२० विश्वकप छनोटअघि नेपालले वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक टी-२० सिरिज जितेकाले पनि मनोबल उच्च छ ।

इङ्ल्यान्डसँग भने सिनियर टिमले पहिलोपटक प्रतिस्पर्धा गर्न लागेको हो । यस्तै इटालीसँग पनि टी-२० अन्तर्राष्ट्रियमा नेपालको पहिलो भेट हुनेछ । फुटबलको लागि प्रख्यात इटालीका टेलिभिजनमा यसपटक क्रिकेट विश्वकपको लाइभ आउनेछ । इटालीका कप्तान वायन मेडसन भन्छन् - ‘फुटबलमा अभ्यस्त पुस्ता अब क्रिकेटमा रमाउने छ । आशा छ यो विश्वकपले नयाँ पुस्तालाई प्रेरित गर्नेछ ।’

स्कटल्यान्ड भने नेपालको परिचित प्रतिद्वन्द्वी हो ।

विश्वकपअघिको दुवै वार्मअप म्याचमा नेपालले जित हात पारेको छ । यूएईलाई ७ र क्यानडालाई ६ विकेटले हराएको नेपालले यद्यपि डेथ ओभर बलिङमा भने अझै सुधार गर्न आवश्यक देखिन्छ । नेपालको ब्याटिङ भने लयमा छ ।

यस्तै बेन्च बलियो हुँदा प्रशिक्षक स्टुअर्ट लसँग विकल्प पर्याप्त छ भने टोलीको आन्तरिक प्रतिस्पर्धा पनि तीव्र छ । यसले अन्ततः खेलाडीको प्रदर्शनमा उल्लेखनीय भूमिका निर्वाह गर्छ ।

कप्तान रोहितले टेस्ट राष्ट्रसँग जितनजिक पुगेको भन्दै यो विश्वकपमा आशावादी रहेको उल्लेख गरेका छन् । विश्वकपमा नेपालको लक्ष्य सुपर एटमा पुग्ने हुनेछ । सुपर एटमा पुगेमा अर्को वर्षको विश्वकपमा पनि स्थान पक्का हुनेछ ।

एसोसिएट राष्ट्रको प्रदर्शन

२०२४ को विश्वकपयता २० टिम प्रतियोगितामा सहभागी हुँदै आएका छन् । जसले गर्दा एसोसिएट राष्ट्रले पनि आफ्नो खेल कौशल प्रदर्शन गर्ने अवसर पाएको छ । नेपालसहित योपटक स्कटल्यान्ड, नामिबिया, अमेरिका, इटाली, नेदरल्यान्ड्स, ओमान, क्यानडा र यूएई विश्वकप खेल्ने एसोसिएट राष्ट्र हुन् ।

एसोसिएट राष्ट्रले यो विश्वपकमा कस्तो प्रदर्शन गर्लान् त ? दक्षिण अफ्रिकाका कप्तान एइडन माक्रम टी-२० मा जुनसुकै टिमले जसलाई पनि हराउन सक्ने बताउँछन् । अघिल्लो विश्वकपमै पनि दक्षिण अफ्रिका नेपालसँग मात्र एक रनले विजयी भएको थियो । यस्तै अमेरिकाले पाकिस्तानविरुद्ध सनसनीपूर्ण जित हात पारेको थियो ।

यसै पनि टी-२० अनुमान गर्न नसकिने फर्म्याट हो । एकै ओभरले पनि खेलको नतिजा उलटपुलट हुन सक्छ ।

श्रीलंकालाई घरेलु मैदानको फाइदा

श्रीलंका सन् २०१४ को टी-२० विश्वकप च्याम्पियन हो र यस संस्करणको सहआयोजक पनि । तर २०१४ को विश्वकप जितेयता श्रीलंकाको प्रदर्शन सन्तोषजनक छैन ।

समूह ‘बी’मा श्रीलंकाले अस्ट्रेलिया, आयरल्यान्ड, ओमान र जिम्बावेसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो खेल शनिबार कोलम्बोमा आयरल्यान्डविरुद्ध हुनेछ । घरेलु मैदान र समर्थकको साथका कारण योपटक श्रीलंकासँग गुमेको शाख फर्काउने अवसर पनि छ ।

यद्यपि सन् २०२१ को च्याम्पियन अस्ट्रेलिया श्रीलंकाका लागि ठूलो चुनौती बन्नसक्छ ।

के टी-२० ब्याटरका लागि मात्र हो ?

टी-२० क्रिकेटको कुरा हुँदा सधैँजसो उठ्ने विषय हो- यो फर्म्याट ब्याटरका लागि मात्र हो । हुन पनि, समर्थकहरू जति धेरै चौका र छक्काको वर्षात् भयो त्यति नै उत्साहित हुन्छन् । झन् आईपीएलका कारण त दर्शकले २० ओभरमै ३ सय रन बन्नसक्ने कल्पनासमेत गर्न थालिसकेका छन् ।

त्यसो भए के योपटकको विश्वकप पनि ब्याटरकै लागि हो त ? इङ्ल्यान्डका ह्यारी ब्रुक्स टी-२० क्रिकेट ब्याटरमैत्री भएको स्विकार्छन् । वेस्ट इन्डिजका कप्तान साई होप पनि टी-२० क्रिकेटको स्वरूप फेरिएको भन्दै ब्याटरका रूपमा धेरैभन्दा धेरै रन बनाउन चाहने प्रतिक्रिया दिन्छन् ।

तर अफगानिस्तानका कप्तान राशीद खानले भने एउटा बलरको रूपमा यस्तो नसोच्ने धारणा राखे । यदि बलरले राम्रो बल फाले कसैले केही गर्न नसक्ने उनको भनाइ थियो । भारतीय कप्तान सूर्यकुमार यादवले भने बलरप्रति आफ्नो सहानुभूति रहने प्रतिक्रिया दिए ।

३० दिनसम्म चल्ने यसपटकको विश्वकपमा कुल ५५ खेल हुनेछन् । यी खेल भारतका पाँच र श्रीलंकाका ३ गरी ८ स्थानमा खेलाइनेछ । विश्वकपमा नेपालसहित २० टिम सहभागी छन् । यी टिमलाई ४ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका दुई टिमले सुपर एटमा स्थान बनाउनेछन् । २० फेब्रुअरीसम्म समूह चरणका खेल हुनेछन् भने ८ मार्चमा उपाधि भिडन्त हुनेछ ।


Image

सविना कार्की

कार्की कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।