
काठमाडौं । २३ र २४ भदौको जेन-जी आन्दोलनका क्रममा सेवाग्राहीका हातमा पुग्न ठिक्क परेका लाखौँ सवारी चालक अनुमतिपत्र जलेर खरानी भए । ती जलेका लाइसेन्सको भार अहिले सेवाग्राहीले बोक्नुपर्ने बाध्यता भएको छ । तपाईंले त्यतिबेला प्राप्त गर्नुपर्ने लाइसेन्स आगजनीमा परेर जलेको थियो भने र अहिले उक्त लाइसेन्स लिन यातायात व्यवस्था विभाग जानुभयो भने तपाईंलाई ५ सय रुपैयाँ कर तिर्न लगाइन्छ । जुन रकम तिर्छु भन्दा पनि सजिलो चाहिँ छैन । जहाँबाट लाइसेन्स लिइएको हो, त्यहीँ पुगेर तिर्नुपर्ने झन्झट छ ।
सिरहाका शिरिष केसीले जेन-जी आन्दोलनको ठीक ४ दिनअघि १९ भदौमा यातायात व्यवस्था कार्यालय एकान्तकुना पुगेर १५ सय रुपैयाँ तिरेर लाइसेन्स नवीकरण गर्नुभएको थियो । अवस्था सामान्य हुन्थ्यो भने उहाँले अतिरिक्त शुल्क नतिरी लाइसेन्स पाउनुपर्ने हो । तर ५ महिना भइसक्दासमेत केसीले लाइसेन्स त पाउनुभएन नै, आन्दोलनमा जलेको भन्दै विभागले उहाँलाई अहिले अतिरिक्त ५ सय रुपैयाँको भार बोकाएको छ ।
दोलखाकी बिनु बस्नेतको समस्या पनि उस्तै छ । चैत २०७९ मा नवीकरण गरेको लाइसेन्स अहिलेसम्म हात परेको छैन । अत्यावश्यक परेर लाइसेन्स लिन जाँदा विभागले बस्नेतलाई पनि ५ सयको राजस्व तिर्न लगायो, त्यो पनि लाइसेन्स जारी भएकै अड्डामा पुगेर ।
बस्नेत र केसीसहित अहिले सयौँ सेवाग्राही ५ सय तिर्नुपर्ने झन्झटका कारण दिक्दार हुँदै विभागबाट फर्किने गरेका छन् । आखिर यसअघि तिर्नु नै नपरेको ५ सयको प्रावधान केका आधारमा लगाइयो ?
यता भौतिक पूर्वाधार तथा यातायातमन्त्री माधवप्रसाद चौलागाईं भने सेवाग्राहीले अनाहकमा ५ सय तिर्नुपरिरहेको र सो रकम बुझाउन लाइसेन्स जारी भएकै अड्डामा पुग्नुपरेको समस्याबारे बेखबर हुनुहुन्छ । कान्तिपुरको जिज्ञासापछि भने उहाँले नियमावली संशोधन गरेर भए पनि सेवाप्रवाह चुस्त बनाउने जिकिर गर्नुभयो ।
५ सय रुपैयाँको यो अतिरिक्त झन्झटका अलावा सरकारले नियमितरूपमा वितरण हुने लाइसेन्स पनि दिन सकिरहेको छैन । ६ महिनामा १२ लाख प्रति लाइसेन्स छाप्ने भनेर विभाग र सुरक्षण मुद्रणबीच गत १५ कात्तिकमा सम्झौता भए पनि यो तीन महिनामा १९ हजार प्रति मात्र छपाइ भएको छ ।
गत भदौको जेन-जी आन्दोलन एउटा प्रेरक तत्त्व प्रशासनिक बेथिति पनि थियो । त्यसकारण आन्दोलनपश्चात् बनेको सरकारबाट नागरिकले चुस्त सेवाप्रवाह आश गरेका थिए । तर, लाइसेन्स वितरणजस्तो अति सामान्य सेवामा पनि अहिलेसम्म सुधारको कुनै गुन्जायस छैन ।
आन्दोलनअघि २५ लाखभन्दा बढी लाइसेन्स छपाइ गर्न बाँकी रहेकामा यसबीच करिब ५ महिनाको अवधिमा यो संख्या २० हजारले पनि घटेको छैन । बरु दिनप्रतिदिन प्रयोगात्मक परीक्षा पास गरेका हजारौँ सेवाग्राही थपिँदो छन् ।