कस्तो छ ठूला चार दलको चुनावी रणनीति ?

माघ २३, २०८२ |दशरथ राई
कस्तो छ ठूला चार दलको चुनावी रणनीति ?
काठमाडौँ। आसन्न २१ फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४ देखि १८ फागुनसम्म निर्वाचन आयोगले दलहरूलाई प्रचारप्रसारको अवधि तोकिदिएको छ । दलहरूले पनि घोषणापत्र तयार पार्नेदेखि घरदैलो गर्ने तथा सामाजिक सञ्जालमार्फत मतदातासम्म पुग्ने विभिन्न रणनीति बनाइरहेका छन् ।

प्रायः सबै दलको चुनाव प्रचार रणनीतिमा डिजिटल क्याम्पेन समावेश छ भने चार ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी तथा राष्ट्रिय स्वतन्त्र पार्टीले सातवटै प्रदेशमा शक्ति प्रदर्शनसहितको आमसभाको तयारी गरेका छन् ।

जेन-जी आन्दोलनका कारण सिर्जित परिस्थितिले हुन गइरहेको २१ फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचन यसपटक दलहरूको चुनाव प्रचार शैली तथा रणनीतिले गर्दा पनि फरक देखिँदै छ । मुख्य दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी त प्रधानमन्त्रीको उम्मेदवार नै घोषणा गरेर यसअघि कहिल्यै नदेखिएको रणनीतिसहित निर्वाचनमा होमिएका छन् । अर्कोतर्फ यी तीनसहित अन्य राजनीतिक दलले डिजिटल माध्यमलाई प्राथमिकता दिने गरी प्रचार अभियान सञ्चालन गरिरहेका छन् ।

एमालेले चुनाव प्रचारकै लागि भनेर १४ लाखभन्दा बढी नेता कार्यकर्ता खटाउने तयारी गरेको छ । उसले सातवटै प्रदेशमा शक्ति प्रदर्शनसहितको आमसभासमेत गर्ने भएको छ । घरदैलो र सामाजिक सञ्जालमार्फत प्रत्येक मतदातासम्म पुग्ने गृहकार्यमा रहेको एमालेले त्यसका लागि नेताहरूलाई निश्चित जिम्मेवारीसमेत दिँदै छ । नेपाली कांग्रेसले पनि यसपटकको निर्वाचनमा परम्परागत शैली अपनाउँदै सामाजिक सञ्जाल प्लेटफर्मलाई समेत अत्यधिक प्रयोग गर्ने रणनीति लिएको छ ।

कांग्रेसले सातवटै प्रदेशमा पार्टी सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मासहितका पदाधिकारीलाई लगेर आमसभामा सम्बोधन गराउने कार्यतालिका बनाइरहेको छ । दुवै दलले आफ्ना नेतृत्वलाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर मतदातासमक्ष मत मागिरहेका छन् ।

यता राष्ट्रिय स्वतन्त्र पार्टी पनि आफ्ना वरिष्ठ नेता बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावी मैदानमा छ । शाहले पूर्वदेखि सुदूरपश्चिमसम्मै मतदाता भेटघाट पनि गरिसकेका छन् । एकल सरकार बनाउने भन्दै आक्रामक रणनीति अपनाएको रास्वपाले आफ्ना चुनावी सभाहरूमा पार्टी सभापति रवि लामिछाने र शाहलाई उत्रार्ने तयारी गरेको छ ।

विभिन्र वाम घटकहरू एकता गर्दै गठन भएको नेपाली कम्युनिस्ट पार्टीले भने केन्द्रीय नेताहरू रहेको एउटा चुनावी प्रचार फोर्स नै गठन गरेर आमसभा र घरदैलो कार्यक्रम लिएर मतदातासम्म पुग्ने गृहकार्य गरिरहेको छ ।

यसपटक दलहरू भौतिकभन्दा भर्चुअल प्रचारमा बढी केन्द्रित भएकाले सामाजिक सञ्जालमा देखिइरहेका द्वेषपूर्ण अभिव्यक्ति र द्वन्द्व समाजमै देखापर्नसक्ने सुरक्षा निकायको ब्रिफिङ छ । यसकारण चुनावी प्रचारमा दलहरूले बढीभन्दा बढी सजगता अपनाउनुपर्ने देखिन्छ ।


Image

दशरथ राई

राई कान्तिपुर टेलिभिजनको समाचार विभागमा कार्यरत छन् ।