
काठमाडौं । बंगलादेशको ढाकामा केही दिनदेखि फैलिएका हिंसात्मक गतिविधि तथा पूर्वप्रधानमन्त्री शेख हसिना पक्षधरहरूले बिहिबार बन्द आह्वान गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
पछिल्ला तीन दिन देशका विभिन्न क्षेत्रमा बिस्फोट तथा आगजनीका घटना भएपछि सरकारले सुरक्षा व्यवस्था कडा बनाएको हो । आइतबारयता १९ वटा बिस्फोट र ११ वटा सवारीसाधनमा आगजनीका घटना भएको ढाकाबाट प्रकाशित हुने द डेली स्टारले जनाएको छ ।
हसिनाको पार्टी अवामी लिगले बिहीबार बन्द आह्वान गरेको छ । तर कुनै पनि प्रदर्शन तथा भेला गर्न नदिने रणनीति सरकारले बनाएको छ । ढाका प्रवेश गर्ने सबै विन्दूमा निगरानी बढाइएको छ भने प्रहरीले हिंसात्मक गतिविधिमा संलग्न भएको अभियोगमा ठूलो संख्यामा मानिसहरूलाई पक्राउ गरेको छ ।
प्रहरीसँगै सेना, र्यापिड एक्सन बटालियन र सीमा सुरक्षा दलले पनि विभिन्न क्षेत्रमा गस्ती गरिरहेको छ । कडा सुरक्षाका कारण आज ढाकाका सडकहरूमा तुलनात्मक रूपमा कम संख्यामा गाडी चलेका थिए । यस्तै मेट्रो रेलमा पनि कम यात्रु कम रहेको द डेली स्टारको समाचारमा उल्लेख छ । त्यस्तै विमानस्थलहरूमा पनि सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
बंगलादेशमा आगामी फेब्रुअरीमा निर्वाचन हुँदैछ । तर यस निर्वाचनमा हसिनाको अवामी लिगलाई उम्मेदवारीबाट बञ्चित गरिएको छ । हसिना समर्थकहरूले यस कदमको विरोध गर्दै आएका छन् । मानवताविरूद्धको अभियोगमा ढाकास्थित बंगलादेश अन्तर्राष्ट्रिय अपराध प्राधिकरणमा हसिनाको मुद्दा फैसला हुन बाँकी छ । सन् २०२४ को जुलाईदेखि अगस्टसम्म चलेको शान्तिपूर्ण प्रदर्शनमा हिंसात्मक दमन गर्न आदेश दिएको अभियोग उहाँमाथि छ । यस मुद्दामा अन्य २६ जनाविरूद्ध पनि उजूरी दर्ता भएको छ ।
आन्दोलन चर्किएपछि ५ अगस्ट २०२४ मा हसिना देश छाडेर भारत पलायन हुनुभएको थियो । त्यसको तीन दिनपछि बंगलादेशमा निर्वाचन गराउनका लागि नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो ।