
काठमाडौं । नेपालले जेन-जी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दी र प्रहरीका कार्यालयबाट लुटिएका हतियार नियन्त्रणमा सहयोग गर्न भारतलाई आग्रह गरेको छ ।
फरार कैदीबन्दी र लुटिएका हतियारका कारण सुरक्षा चुनौती थपिएको भन्दै नेपालले नियन्त्रण गर्न भारतीय पक्षसँग आग्रह गरेको हो । भारतको नयाँ दिल्लीमा बुधबारदेखि सुरु भएको नेपाल-भारत सीमा सुरक्षा समन्वय बैठकमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले जेन-जी आन्दोलनका क्रममा भागेका कैदीबन्दी र प्रहरी ब्यारेक तथा कार्यालयबाट लुटिएका हतियार नियन्त्रणमा भारतीय पक्षको सहयोग खोज्नुभएको हो ।
उहाँले फरार कैदीबन्दी र लुटिएका हतियारका कारण दुबै देशमा सुरक्षा चुनौती हुनसक्ने भएकाले मिलेर नियन्त्रण गर्नुपर्ने बताउनुभएको हो । बैठकमा अर्यालले गरेको आग्रहमा भारतीय समकक्षी सशस्त्र सीमा बल एसएसबीमा महानिर्देशक सञ्जय सिंघलले यसबाट दुबै देशका लागि सुरक्षा चुनौती थपिएको भन्दै नियन्त्रणमा सहयोग गर्ने वचन दिनुभएको छ ।
गत भदौ २४ गते देशभरका २८ कारागार र सुधार गृहबाट १४ हजार ४३ कैदीबन्दी जेल तोडेर फरार भएकामा अझै ५ हजार बढी पक्राउ परेका छैनन् । जेलबाट भागेकामध्ये हाल फरार अवस्थामा ५ सय २० जना भारतीय र ९९ जना तेस्रो देशका नागरिकसमेत छन् ।
भागेका भारतीयसहित विदेशी र नेपाली कैदीबन्दी स्थलमार्गबाट भारतमा लुकेर बसेको हुनसक्ने भन्दै महानिरीक्षक अर्यालले यस विषयलाई गम्भीर रूपमा लिएर खोजबिनमा सहयोग पुर्याउन आग्रह गरेको बैठकमा सहभागी स्रोतले जानकारी दिएको छ । बुधबारदेखि सुरू भएको सीमा सुरक्षा समन्वय बैठक शुक्रबार सकिने छ ।
बैठकमा सहभागी हुने नेपालबाट गएको ८ सदस्यीय उच्चस्तरीय टोलीमा गृह मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र परराष्ट्र मन्त्रालयका अधिकारीहरू सहभागी छन् । भारतका तर्फबाट एसएसबी महानिर्देशक सिंघलको नेतृत्वमा त्यहाँको गृह र विदेश मन्त्रालयका अधिकारी सहभागी छन् । सीमा सुरक्षा समन्वयको आठौं बैठक २०८१ साल मंसिर मा नेपालमा भएको थियो ।
अहिले चलिरहेको नवौं बैठकमा अघिल्लो बैठकका समीक्षा र आगामी रणनीतिसहित विभिन्न एक दर्जन बुदामा छलफल हुने छन् । बैठकमा सीमा सुरक्षा, सीमापार अपराध रोकथाम तथा नियन्त्रण, क्रसबोर्डर अकुपेसन र यसले सीमा सुरक्षामा पारेका असर, सीमा स्तम्भ सुरक्षा, मर्मतसम्भारलगायतका एजेन्डा पेस भएका छन् । यी विषयमा छलफल गरी साझा समस्या सामना गर्ने गरी शुक्रबार संयुक्त हस्ताक्षर हुने छ ।