काठमान्डू गोर्खाजद्वारा काठमाडौंका विभिन्न स्थानमा एनपीएल ट्रफी टूर

कार्तिक २६, २०८२ |खेल ब्युरो
काठमान्डू गोर्खाजद्वारा काठमाडौंका विभिन्न स्थानमा एनपीएल ट्रफी टूर

काठमाडौं । नेपाल प्रिमियर लिग-एनपीएलको ट्रफी टुरअन्तर्गत बुधबार काठमाडौंका विभिन्न स्थानमा ट्रफी प्रदर्शनी गरिएको छ। 

दोस्रो संस्करणको प्रतियोगिता सुरू हुनुभन्दा पाँच दिन अघि उपत्यकाका विभिन्न ठाउँमा ट्रफी टूर गराइएको हो । बुधबार बिहान गौशालास्थित पशुपतिनाथको मन्दिरमा ट्रफी प्रदर्शनी गरिएको थियो । काठमान्डू गोर्खाजका प्रबन्ध निर्देशक अनुभव सिरोहिया, प्रमुख कार्यकारी अधिकृत सुरजसिंह ठकुरी, कप्तान करण केसीका साथै प्रशिक्षक र ब्रान्ड एम्बासडरहरूले ट्रफी प्रदर्शनी गरेका हुन् । 

त्यसपछि यो ट्रफीलाई भक्तपुर दरबारमा पनि प्रदर्शनी गरिएको थियो। काठमाडौं गोर्खाजले यो सिजनको एनपीएलमा ऐतिहासिक ट्रफी भ्यालीमा नै राख्ने लक्ष्य राखेको छ । एनपीएलको ट्रफीको मुख्य आकर्षण सगरमाथाको आधार शिविरबाट ल्याइएको कालापत्थरको ढुंगा रहेको छ। 

आरोहीद्वय निमा शेर्पा र मिङ्मा शेर्पाले एनपीएलको ट्रफीमा प्रयोग गरिएको ढुंगा ल्याएका थिए । यो ट्रफी मात्र नभई विश्वलाई हिमाल संरक्षण गर्ने सन्देशसमेत रहेको क्यानले बताउँदै आएको छ। आजै दिउँसो लतिपुरको पाटन दरबार स्क्वायर र हनुमानढोका दरबार स्क्वायरमा पनि ट्रफी प्रदर्शन गरिएको थियो । काठमाडौं उपत्यका भरी काठमान्डू गोर्खाजले ट्रफी टुर गरेको हो ।