
धनकुटा । तिहार नजिकिएसँगै धनकुटाका ग्रामिण हाटबजारमा किनमेल गर्नेको घुइँचो बढेको छ ।
गाउँघरमा हरेकबार फरक-फरक स्थानमा लाग्ने हाटबजारमा उपभोक्ता र व्यापारीको चहलपहलले वातावरण तिहारमय बनेको छ । तिहार छेक लाग्ने यस्ता हाटबजारमा दैनिक उपभोग्य बस्तुसागै उपहारका रूपमा दाजु भाइलाई दिइने ढाकाटोपी, कपडा, सगुन, फलफूल, भाइमसला, रंग, लक्ष्मी पूजाका लागि तस्बिर, बिमिरो, बत्ति, धूप र दियो बढी किनबेच भइरहेको छ ।
सजावटका सामग्री, दाजुभाई र दिदि बहिनीका लागि उपहारका सामग्री किन्न उपभोक्ताहरूको भीडले ग्रामिण हाटबजारको माहोल तिहारमय बनेको छ । धनकुटा बजार, हिले, सिंधुवा, काजीमान, आाखिसल्ला, फलामेटार, लावरबोटे, डाँडाबजार, मौनबुधुक र बुधबारे लगायत धनकुटाका २५ बढि ठाउँमा यस्ता हाट बजार लाग्दै आएका छन् ।
स्थान विशेषमा फरक-फरक दिन लाग्ने यस्ता हाटबजारमा तिहारका सामग्री लिएर घुमुवा व्यापारी पुग्ने गरेका छन् । व्यापाहरूका अनुसार तिहार अघिका यस्ता बजारमा मिठाइ, कपडा, रंग, झिलिमिली बत्ति र उपहारका सामग्रीको बिक्रि उच्च हुने गरेको छ ।
यतिबेला सहरका व्यापारीहरूले गाउँगाउँसम्म सामान पठाउँछन् । गाउँका उत्पादन सहर पुग्छन् । स्थानीय किसानले आफ्ना उत्पादन बेचेर खर्च जुटाउँछन् । तिहार अघि लाग्ने यस्ता हाटबजारले गाउँघरको आर्थिक चक्रलाई समेत गति दिने गरेका छन् ।