कोशी र मधेसका सवारीसाधन पुष्पलाल मार्गबाट राजधानीतर्फ जाँदै

आश्विन २०, २०८२ |केदार शिवाकोटी
कोशी र मधेसका सवारीसाधन पुष्पलाल मार्गबाट राजधानीतर्फ जाँदै

दोलखा । बीपी राजमार्ग वैकल्पिक सडकका रूपमा प्रयोगमा आएको पुष्पलाल मार्गबाट सोमबार दिउँसो २ बजेसम्म ११ सय साना-ठूला सवारीसाधन राजधानी गएका छन् । 

ती सवारीसाधनबाट हालसम्म १४ हजार बढी यात्रु राजधानी गएको प्रहरीले जनाएको छ । सोमबार बिहानैदेखि पुष्पलाल मार्गमा सवारी चाप अत्याधिक बढेको छ । सवारी चाप बढेपछि राजमार्गमा सवारीसाधन र यात्रुको सहजताका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय र प्रहरी खटिएको दोलखाका प्रहरी नायव उपरिक्षक ज्ञानकुमार महतोले बताउनुभयाे । 

बीपी राजमार्ग बाढी र पहिरोले अवरुद्ध बनेपछि सोलुखुम्बु, ओखलढुङगा, खोटाङ, उदयपुर, रामेछापलगायतबाट छुटेका साना तथा ठुला सवारीसाधनहरु पुषपलाल मार्ग हुँदै मन्थली चरिकोटबाट अरनिको राजमार्ग प्रयोग गरेर राजधानी गैरहेका छन् । 

सार्वजनिक सवारीसाधनले बढट्ठ भाडा लिएको गुनासो बढेपछि प्रमुख जिल्ला अधिकारी भोला दाहाल र प्रहरी प्रमुख महतो राजमार्गमा छड्के अनुगमन गर्ने क्रममा १३ वटा सवारी साधनलाई कारबाही गरिएको महतोले बताउनुभयाे । 

ती सवारीसाधनका २७ यात्रुबाट बढी भाडा लिएकाहरूको रकम फिर्ता गरिएको उहाँले जनाकारी दिनुभयाे । विपद्का समयमा वैकल्पिक राजमार्ग प्रयोग गरेका सार्वजनिक यातायातले बढी भाडा लिए सवारीसाधनलाई कारबाही गरिने उहाँले स्पष्ट पार्नुभयाे ।

राजमार्गमा अत्याधिक चाप बढेकाले ठाउँ-ठाउँमा प्रहरी परिचालन र सहायता कक्ष सञ्चालन गरिएको उहाँले बताउनुभयाे । यसैगरी सगरमाथा क्षेत्र पदयात्रामा गएका विदेशी पर्यटक पनि यहि भएर फर्कन थालेको उहाँले बताउनुभयाे । कोशी र मधेस प्रदेशबाट छुटेका अधिकांस साना ठुला सवारी साधन बर्दिबास-सिन्धुली-खुर्कोट, मन्थली-चरिकोट हुँदै राजधानी जाने क्रम बढेको उहाँकाे भनाइ छ । 

अत्याधिक सवारी चापका कारण सवारीसाधनलाई ठाउँ-ठाउँमा विश्राम गरेर जान आग्रह गरिएको समेत उहाँले जानकारी दिनुभयाे ।


Image

केदार शिवाकोटी

शिवाकोटी कान्तिपुर टेलिभिजनका दोलखा संवाददाता हुन् ।