नारायणगढ-मुग्लिङ र मुग्लिङ-नागढुङ्गा सडक खण्डमा यातायात सञ्चालनमा रोक

आश्विन १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
नारायणगढ-मुग्लिङ र मुग्लिङ-नागढुङ्गा सडक खण्डमा यातायात सञ्चालनमा रोक

चितवन/धादिङ । रातिदेखिको निरन्तरको वर्षाले जोखिम बढाएपछि नारायणगढ-मुग्लिङ र मुग्लिङ-नागढुङ्गा सडक खण्डमा यातायात सञ्चालनमा रोक लगाइएको छ ।

मुग्लिन–नागढुंगा सडक खण्डमा यातायात चलाउन रोकिएपछि चितवन प्रहरीले सुरक्षित ठाउँमा सवारीसाधन रोक्न थालेको छ ।

अहिले काठमाडौंतर्फ जाने सवारी साधनलाई फिस्लिङ, मुग्लिन, जुगेडी, रामनगर, बसेनी, पोखरा बसपार्क, नारायणघाट बसपार्क लगायतका क्षेत्रमा रोक्न लगाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रविन्द्र खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार आवश्यकताका आधारमा रत्ननगरको शान्ति चोक, खैरहनीको चौबीसकोठी, राप्तीको भण्डारा क्षेत्रमा सवारी साधन रोक लगाइने छ। उहाँले परिस्थिति हेरेर पोखरातर्फ जाने सवारी साधनलाई भने गन्तव्यमा जान दिइएको छ ।

बिहान केहीबेर नारायणघाट–मुग्लिन सडक खण्ड अवरुद्ध भए पनि अहिले एकतर्फी सञ्चालनमा छ । बेला–बेला तुईन खोलामा अझै ढुंगा खसिरहेकाले ठूलो पहिरोको जोखिम कायमै छ । चितवनमा गएरातिदेखि नै वर्षा भइरहेकाले सकेसम्म अतिआवश्यक काम बाहेक यात्रा नगर्न चितवन प्रशासनले आग्रह गरेको छ ।

पृथ्वी राजमार्गको जवाङ खोलामा आज बिहान खसेको पहिरो पन्छाइउ पनि सुरक्षाका लागि बाटो बन्द गरिएपछि काठमाडौंबाट मुग्लिङतर्फ जान धादिङ पुगिसकेका गाडीलाई मलेखु क्षेत्रमा रोकिएको छ । त्यस्तै प्रहरीले काठमाडौंबाट हिँडेका सवारीसाधनलाई थानकोटमै रोकेको छ भने उताबाट आउने गाडीहरू कुरिनटारमा रोकिएका छन् । 

मौसम पुर्वानुमान महाशाखाले जारी गरेको चेतावनीअनुसार चितवन, धादिङ र तनहुँ प्रशासनले यो सडकमा अत्यावश्यक बाहेकका सवारी साधन नचलाउने निर्णय गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.