विजया दशमीको मुख्य दिन : टीका थाप्न आफन्तकहाँ जाने क्रमसँगै काठमाडौंका सडकमा चहलपहल बढ्यो

आश्विन १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
विजया दशमीको मुख्य दिन : टीका थाप्न आफन्तकहाँ जाने क्रमसँगै काठमाडौंका सडकमा चहलपहल बढ्यो

काठमाडौं । नेपालीहरूको महान चाड विजया दशमी मनाउन आफन्तहरूकोमा जाने क्रमसँगै काठमाडौंका सडकमा सर्वसाधारणको चहलपहल बढ्न थालेको छ ।

बिहिबार दशैंको मुख्य दिन घरमा मान्यजनको हातबाट टिका एवं नवदुर्गाको प्रसाद ग्रहण गरी आफन्तकोमा टिका लगाउन जाने क्रम सुरू भएको हो । काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा साइतको टीका घरमा लगाइसकेपछि आफन्तहरूकोमा जाने क्रमसँगै सडकमा सर्वसाधारणहरू सवारीसाधन कुरेर बसिरहेको देख्न सकिन्छ ।

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसाद ग्रहण गर्नुअघि विधिपूर्वक नौ दिनसम्म नवदुर्गाको आह्वान गरी पूजा आराधना गरिएको दशैं घर वा पूजा कोठामा देवी विसर्जन गरिन्छ । आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतिकको रूप मानेर लगाउने गरिन्छ ।

त्रेता युगमा आजकै दिन भगवान रामले असत्यको प्रतिक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरू गरिएको धार्मिक विश्वास छ । आज असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतिकका रूपमा मनाइने विजयादशमी (बडा दशैं)को सबैभन्दा महत्वपूर्ण दिन हो । यसैले आजको दिनलाई विजयको प्रतिकका रूपमा पनि लिइन्छ ।

आज गुरू पुरोहित, हजुरबुबा, हजुरआमा, पिता, माता, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरुबाट यश, ऐश्वर्य वृद्धि एवं दीर्घायु प्राप्त होस् भनेर आशिर्वाद लिइन्छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.