विराटनगर-रंगेली पैदल निशान ध्वजा यात्रा सम्पन्न

आश्विन १५, २०८२ |सुशीला पाठक
विराटनगर-रंगेली पैदल निशान ध्वजा यात्रा सम्पन्न

विराटनगर । नवमीको अवसरमा विराटनगर-रंगेली पैदल निशान ध्वजा यात्रा बुधबार सम्पन्न भएको छ ।

विराटनगरको काली मन्दिरदेखि रंगेलीको काली मन्दिरसम्म नवमीको दिन निशान ध्वजा बोकेर यात्रा गरिएको छ । विगत नौं वर्षदेखि निरन्तर रूपमा निशान ध्वजा यात्रा रंगेलीको काली मन्दिर निशान यात्रा व्यवस्थापन समिति आयोजना गर्दै आएको हो ।

विराटनगरदेखि रंगेलीसम्म करिब २५ किलोमिटरको दूरी भक्तजनहरू भगवानको ध्वजावाला झण्डा बोकेर पदैल यात्रा गर्ने गरेका छन् । यात्रामा सबै उमेर समूहकाहरूको सहभागिता हुने गरेको छ । आफ्नो मनोकांक्षा पूरा हुने विश्वासका साथ यात्रामा सहभागी हुने गरेको बताइएको छ ।

विराटनगरको काली मन्दिरबाट सुरू भएको यात्रामा सहभागीहरूले ठाउँ-ठाउँमा बनाइएका मन्दिरमा पूजाआजा गर्दै रंगेलीको प्रख्यात मन्दिर संनसारीमाई मन्दिरमा पुगेर पूजाआजा गरेपछि मात्रै काली मन्दिरमा गएर पूजाआजा गरेपछि यात्रा पूरा हुन्छ ।

निशान यात्रामा यस पटक सहभागी हुनका लागि पाँच हजारभन्दा बढी भक्तजनहरूले रसिद काटेर नाम टिपाएको समितिले जनाएको छ । पदैल यात्रा व्यवस्थापन समितिले पदैल यात्रीको सहजताका लागि बस, सिटी सफारीलगायतका व्यवस्था गरेको छ ।

लामो दूरी यात्रा घाममा गर्नुपर्ने भएको हुँदा कोही हिँड्न नसक्ने, हिँड्दा-हिँड्दै स्वास्थयमा समस्या जस्ता कुरालाई विशेष ध्यानमा राखेर सम्पूर्ण व्यवस्थापन गरिएको बताइएको छ । काली मन्दिरमा पैदल यात्राले गरेको सहयोगबाट सोही दिन साँझमा भण्डारा गर्ने गरिएको छ ।


Image

सुशीला पाठक

पाठक कान्तिपुर टेलिभिजनकी मोरङ संवाददाता हुन् ।