काठमाडाैं । भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा घाइते भएकामध्ये ३९ जना अझै घर फर्कन पाएका छैनन् ।
उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । आन्दोलन लगत्तै सुरू भएको दशैंले पनि घाइतेहरूलाई छोएको छैन । बरू उनीहरूलाई आफूहरूले उठाएका माग र मुद्दा सम्बोधन हुन्छन् कि हुँदैनन् भन्ने चिन्ता छ । आन्दोलनको बलमा गठन भएको सरकारलाई अस्पतालको शय्याबाटै घाइतेहरूले माग पूरा गराउन झक्झकाइरहेका छन् ।
भदौ २३ गतेदेखि काठमाडौंको केएमसी अस्पतालमा उपचाररत १७ वर्षीया एकता शाह आज पनि आन्दोलनको दिन सम्झेर सुस्केरा हाल्नुहुन्छ। आन्दोलनमा होमिएर शहिद भएका आफूजस्तै साथीहरूको बलिदानीको प्रतिफल मुलुकले पाउनुपर्नेमा भने उहाँ दृढ हुनुहुन्छ। आन्दोलनअघि सत्तामा रहेका दल र त्यसका नेताहरू सुध्रिनेमा उहाँलाई शंका छ । एकता भन्नुहुन्छ- नेताहरूको बुद्धि पलाओस् ।
एकता जस्तै जेन-जी आन्दोलनका घाइतेमध्ये काठमाडौं मेडिकल कलेज सिनामंगलमा ६ जनाको २३ दिनदेखि उपचार भइरहेको छ । उनीहरूले जेन-जी आन्दोलनको जगमा बनेको सरकारले पनि आफूहरूका माग सम्बोधन गर्न नसकिरहेको गुनासो गरेका छन् ।
अहिले देशभर दशैंको माहोल छ । तर जेन-जीका घाइतेलाई देश रोइरहेको अवस्थामा यसले छोएको छैन । बरू उनीहरूलाई आफूहरूका माग कति सम्बोधन हुन्छन् भन्ने चिन्ता छ । जेन-जी युवा आन्दोलनमा होमिँदा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्नुपर्ने माग गरेका थिए । यस्तै उनीहरूले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र प्रदेश खारेजीको मागसमेत उठाएका छन् । जेन-जी आन्दोलनमा घाइते भएका २३ सय १६ जनामध्ये अहिले पनि ३९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।