काठमाडौं । जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा १० जनाको मृत्यु भएको छ । उपचारका लागि ट्रमा सेन्टर पुर्याइएका ६ जनाको र सिभिल अस्पतालमा २ जनाको मृत्यु भएको हो ।
अस्पताल ल्याइएका ६ जनाको मृत्यु भएको ट्रमा सेन्टरका डा. दीपेन्द्र पाण्डेले पुष्टि गर्नुभएकाे छ । यस्तै २० भन्दा बढी अन्य घाइतेको पनि उपचार भइरहेको समेत उहाँले जानकारी दिनुभएकाे छ ।
सिभिलका कार्यकारी निर्देशक मोहनचन्द्र रेग्मीले अस्पतालमा ल्याइएका दुई जनाको मृत्यु भएको बताउनुभयाे । यस्तै केएमसी र त्रिवि शिक्षण अस्पतालमा पनि एक-एक जनाको मृत्यु भएको छ । मृतकहरूको पहिचान भने खुल्न बाँकी छ ।
प्रदर्शनकारीलाई प्रहरीले पानीका फोहरा, अश्रुग्यास र गोली प्रहार गरेको छ । घाइतेको ट्रमा, सिभिल, एभरेस्टलगायतका अस्पतालमा उपचार भइरहेको छ ।
सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा 'जेन-जी'हरू प्रदर्शनमा उत्रिएका हुन् । काठमाडौंसहित देशका मुख्य सहरमा प्रदर्शन भइरहेको छ ।