काठमाडौं । नेपालले चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ-जीएसआइलाई समर्थन गरेको भनेर चिनियाँ दाबीबारे सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न सांसदहरूले माग गरेका छन् ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्ने सत्तारूढ तथा विपक्षी दलका सांसदहरूले जीएसआइबारे अहिलेसम्म नेपाल आधिकारिक धारणा सार्वजनिक नगरेकोमा पनि सरकारको आलोचना गरे ।
नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले दुई पक्षीय छलफलको एजेन्डामै नभएको जीएसआईबारे किन र कसरी उल्लेख भयो भन्नेबारे प्रधानमन्त्रीको सचिवालय र परराष्ट्र मन्त्रालयले समयमै स्पष्ट पार्नुपर्ने माग गर्नुभयो ।
विपक्षी दल नेकपा माओवादी केन्द्रका लेखनाथ दाहाल र एकीकृत समाजवादीका प्रकाश ज्वालाले पनि जीएसएआईमा नेपाल सहभागी भएको भन्दै चीनको दाबीको वास्तविकताबारे स्पष्ट धारणा सार्वजनिक गर्न र प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने माग गर्नुभयो । उहाँहरुले परराष्ट्र मामिलाबारे सिंगो देश एक ठाउँमा उभिनुपर्ने पनि बताउनुभयो ।
सांसदहरूले तराई-मधेशका जिल्लालाई सु्क्खा क्षेत्र घोषणा गरिए पनि कार्यान्वयन नगरिएको भन्दै किसानलाई राहत तथा सुविधा दिन माग गरे । इम्बोस्ड नम्बर कार्यान्वयन तत्काल रोक्न र पूर्वाधार बनाउन पनि सांसदहरूले माग गरेका छन् ।
सांसदहरूले अस्पतालबाहेक अन्य सामाजिक संस्थाहरूले एम्बुलेन्स सञ्चालन गर्न नपाउने कार्यविधिले बिरामीले सेवा नपाउने अवस्था सिर्जना भएको भन्दै एम्बुलेन्स सञ्चालकका जायज माग पूरा गर्न आग्रह गरे ।
यसैगरी, कमला नदीको भासिएको पुलको निर्माण तत्काल थाल्न र वर्षाका कारण बिग्रिएका सडक अविलम्ब पुनःनिर्माण गर्न सांसदहरूले माग गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू भने भिजिट भिसा प्रकरणमा आफूहरूको माग कायमै रहेको भन्दै आज पनि संसद् बैठक छाडेर बाहिरिए ।