काठमाडौं । काठमाडौं जिल्ला अदालतकी न्यायाधीश मोना सिंहले न्यायिक सिद्धान्तविपरित स्वार्थ बाझिएको मुद्दाको सुनुवाइ गरेपछि न्याय परिषद्मा उजुरी परेको छ ।
कुनैपनि न्यायाधीशले आफूसँग सम्बन्धित तथा आफ्ना नातागोता, प्रत्यक्ष वा अप्रत्यक्षसम्बन्ध देखिने संस्था वा व्यक्तिको मुद्दाको सुनुवाइ गर्न मिल्दैन । तर काठमाडौं जिल्ला अदालतकी न्यायाधीश सिंहले विगतमा आफैं व्यवस्थापन समिति सदस्य रहेको काठमाडौं स्कुल अफ ल का सहायक प्राध्यापक रुविन श्रेष्ठले दायर गरेको मुद्दाको सुनुवाइ गरेपछि स्वार्थ बाझिएको भन्दै उजुरी परेको हो ।
काठमाडौं जिल्ला अदालतकी न्यायाधीश मोना सिंह न्यायाधीशमा नियुक्त हुनुअघि काठमाडौं स्कुल अफ ल को व्यवस्थापन समिति सदस्य हुनुहुन्थ्यो । न्यायिक सिद्धान्तबमोजिम उहाँले काठमाडौं स्कुल अफ लसँग सम्बन्धित कुनै पनि मुद्दाको सुनुवाइ गर्न मिल्दैन । तर, काठमाडौं स्कुल अफ ल का सहायक प्राध्यापक रुविन श्रेष्ठ र कार्यकारी निर्देशक युवराज संग्रौलाले सोही क्याम्पसमा अध्ययनरत सन्ध्या गौतमविरुद्ध काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दाको न्यायाधीश सिंह सुनुवाई गर्नु भएको छ ।
त्यति मात्र होइन सो मुद्दामा उहाँले आदेश समेत जारी गर्नुभएको छ। यो स्पष्टरुपमा स्वार्थ बाझिने देखिएको भन्दै न्यायाधीश सिंहविरुद्ध न्याय परिषद्मा सन्ध्या गौतमले नै उजुरी दिनुभएको हो ।
उजुरीमा सुनुवाई गर्न नमिल्ने मुद्दा सुनुवाई गरेर लगाउमा राख्ने आदेश दिएको, फिराद दोहोरो रहेकोमा वेवास्ता गरेको तथा मुद्दामा प्रतिवादी रहेकी आस्था दाहालको म्याद नै नामेल नगरी सुनुवाइ गरेको आरोप लगाइएको छ ।
त्यसो त न्यायाधीश सिंहका छोरा पनि हाल काठमाडौं स्कुल अफ ल मै विपक्षी सन्ध्या गौतमकै सहपाठी हुन् । मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा २७१ ले पनि स्वार्थ बाझिएको मुद्दा न्यायाधीशले हेर्न नहुने स्पष्ट व्यवस्था छ ।
अन्तराष्ट्रिय विधिशास्त्त्रिय सिद्धान्त नेमो जुडेक्स इन कजा स्वा अनुसार आफ्नो मुद्दामा आफै न्यायाधीश बन्न मिल्दैन र नेपालको न्यायालयले यो लामो समयदेखि अवलम्बन गर्दै आएको छ ।
न्यायाधीश आचारसंहिता २०७४ मा पनि न्यायाधीशले विवादको निष्पक्ष निरुपण गर्न नसक्ने भएमा वा विवाद निरोपण गर्दा निष्पक्ष भई निर्णय गर्न नसक्ने अवस्था छ भन्ने देखेमा त्यस्तो मुद्दाको सुनुवाइ गर्नबाट आफूलाई अलग राख्नुपर्ने व्यवस्था छ ।
तर न्यायाधीश सिंहले विगतमा आफैं व्यवस्थापन रहेको काठमाडौं स्कुल अफ लका कार्यकारी निर्देशक र सहायक प्राध्यापकले दायर गरेको मुद्दाको सनुवाइ गरेर आचारसंहिता पनि उल्लंघन भएको उजुरीमा उल्लेख छ ।