के नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा अध्यक्ष दाहाललाई नेतृत्वबाट हटाउन चाहनुहुन्छ ? कि यो अध्यक्ष पुष्पकमल दाहालको कार्यशैली र नेतृत्वशैलीमात्र सुध्रियोस् भन्ने चाहनुहुन्छ ?
पार्टीभित्र अध्यक्ष दाहाल र उपमहासचिव शर्माबीचको संघर्ष उत्कर्षमा छ । सार्वजनिक मञ्चमै दुईबीच एकआपसमा घोचपेच र छेडखानीमात्र होइन, अध्यक्ष दाहालले शर्माका विषयमा पार्टीमा छलफल हुनुपर्ने र कारबाही गर्नुपर्ने संकेत गरिरहनुभएको छ। शर्माको असन्तुष्टिको कुनै अर्थ नभएको बताइरहनुभएका दाहालका विषयमा पनि शर्माले जवाफ दिइरहनुभएको छ । शर्मा भन्नुहुन्छ,'पार्टीको नेतृत्व र संगठनको संचरना सुधार्न चाहेको हुँ, कुनै व्यक्ति विशेषलाई होइन।'
सोमबार राति कान्तिपुर टेलिभिजनमा प्रसारण हुने कार्यक्रम फायरसाइडमा कुरा गर्दै शर्माले आफूले पार्टीमा अध्यक्ष दाहालको भूमिका परिवर्तन हुनुपर्ने आवाज उठाइरहेको बताउनुभयो। 'अब पार्टीको संगठनको नेतृत्वमा नयाँ पुस्ता आउनुपर्छ, पार्टीको नेतृत्वमा रहे पनि अध्यक्ष दाहालको भूमिका बदलिनुपर्छ भन्ने मेरो भनाइ हो।' शर्माले भन्नुभयो।
के जनार्दन शर्मा आफैं पार्टी नेतृत्व गर्न चाहनुहुन्छ ?
फायरसाइडमा सोधिएको प्रश्नमा शर्माले स्पष्ट जवाफ दिनुभएको छ। नेत्रविक्रम चन्द-विप्लवसँग अध्यक्ष दाहालका भेट र छलफलमा भएका कुराकानीका आधारमा कतै दाहालले चन्दलाई नेतृत्व सुम्पिने तयारी पो गर्नुभएको हो कि ? शर्मा त्यसमा अनभिज्ञता प्रकट गर्नुहुन्छ। तर कार्यक्रममा चन्दलगायतसँग हुन सक्ने सहकार्यका विषयमा शर्माले आफ्नो धारण राख्नुभएको छ।
कार्यक्रममा शर्मासँग समसामयिक राजनीति, संसदमा प्रमुख प्रतिपक्षका रूपमा माओवादी केन्द्रको कमजोर भूमिका र पार्टीमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको प्रवेश र पूर्वराष्ट्रपति विद्या भण्डारीको एमालेमा फर्किने कसरतको अर्थका बारे प्रश्न गरिएको छ।
अर्को विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीसँग बाटो मोडिएको विषयमा पनि उहाँले केहि स्वीकारोक्तिहरू व्यक्त गर्नुभएको छ।
हेर्नुहोस् पूरा कार्यक्रम :