सुनको भाउ २ लाख ५ हजार नाघ्दा बजार सुनसान, विलासिता कर र महँगीलाई व्यवसायीले देखाए कारण

भाद्र १६, २०८२ |सुदिल पोखरेल
सुनको भाउ २ लाख ५ हजार नाघ्दा बजार सुनसान, विलासिता कर र महँगीलाई व्यवसायीले देखाए कारण

काठमाडौं । सुनको भाउ प्रति तोला दुई लाख पाँच हजार नाघेपछि सुन पसलहरू भने सुनसान देखिएका छन् । 

सुनको कारोबार कम हुनुमा अन्तर्राष्ट्रिय बजारमा बढेको भाउ मात्रै नभई सरकारले लगाएको बिलासिता करलाई समेत व्यवसायीले दोष दिन थालेका छन् । सुनको भाउ सोमबार प्रति तोला दुई लाख पाँच हजार तीन समय रूपैयाँ पुग्यो । 

सुनको भाउ यसरी आकासिएपछि काठमाडौंका सुन पसलमा अहिले ग्राहक देखिँदैनन् । लगानीकर्ता सुनमा आकर्षित भएपछि विश्वबजारमा सुनको माग बढ्दा भाउ बढेको हो । 

अमेरिकी केन्द्रिय बैंक फेडरल रिजर्भले सेप्टेम्बरदेखि ब्याजदर कम गर्ने संकेत गर्दा डलरको मूल्य कम हुने लगानीकर्ताहरूको आकलन छ । कमोडिटी मार्केटमा समेत डलर इण्डेक्स घट्नु र गोल्ड इण्डेक्स बढ्नुले सुनमा लगानीकर्ताको आकर्षण बढाएको हो । 

अमेरिकि राष्ट्रपति डनल्ड ट्रम्पको अस्थिर टारिफ नीति र त्यसले विश्वजारमा पर्ने प्रभावका कारण पनि लगानीकर्ता सुनमा आकर्षित भएका छन् । नेपाली बजारमा भने सुनमा यो वर्षदेखि १० लाखभन्दा कमको सुनमा समेत २ प्रतिशत विलासिता कर लागू भएकाले ग्राहकलाई महंगो परेको व्यवसायी बताउँछन् ।

१ तोला सुन किन्दासमेत अहिले गत वर्षभन्दा ४ हजार रूपैयाँ १ सय ६ रूपैयाँ बढी कर तिर्नुपर्छ । भन्सार महसुलसँगै यहाँका व्यवसायीले ज्याला शुल्क लगाउँदा छिमेकी मुलुकमा भन्दा महंगो देखिएको हो ।

तिज सकिएसँगै बढेको सुनको भाउका कारण पनि बजारमा सुनको कारोबार कम भएको हो । उपभोक्ताको क्रयशक्ति नबढ्नु पनि अर्को कारण हो । सुनको भाउ यस्तै रहे आउने मंसिरसम्म सुनको कारोबारमा उल्लेखनीय वृद्धि हुने अपेक्षा व्यवसायीको छैन ।


Image

सुदिल पोखरेल

पोखरेल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।