एन्फा महिला लिग : रिसोर्ट एन्ड बिच फुटबल क्लब पोखराकाे फराकिलाे जित

भाद्र १६, २०८२ |खेल ब्युरो
एन्फा महिला लिग : रिसोर्ट एन्ड बिच फुटबल क्लब पोखराकाे फराकिलाे जित

काठमाडौं । एन्फा महिला लिग छनोटअन्तर्गत साेमबारको खेलमा आरएस रिसोर्ट एन्ड बिच फुटबल क्लब पोखराले फराकिलाे जित हासिल गरेको छ। 

ललितपुरको च्यासल रंगशालामा भएको खेलमा पोखराले एफसी रियालेलाई ४-० ले हराएको हो । साेमबारको जितसँगै पोखराले महिला लिग छनोटको सम्भावनालाई बलियो बनाएको छ। 

यता अहिलेसम्म पनि जितविहीन रहेको रियाले यसअघि नै छनोटबाटै बाहिरिएको छ। खेलको १०औं मिनेटमा बिपना परियारको गोलमार्फत् पोखराले अग्रता बनाएको थियो । 

पहिलो हाफमा एक गोल मात्रै गरेको भए पनि अन्तिम १६ मिनेटमा बाँकी गोल गरेको हो । खेलको ७४औं मिनेटमा इशा चौधरीले अग्रता दोब्बर बनाइन् । ८६औं मिनेटमा उषा शाहीले तेस्रो गोल गरेका थिइन् । त्यसैगरी तुलसी शाहीले ८७औं मिनेटमा गोल गरेर खेललाई ४-०मा समाप्त गरिन् ।

आजको जितसँगै समूह 'ए' मा पोखराले पाँच खेलबाट १२ अंक बनाएको छ। यो समूहमा शीर्षस्थानको चर्च बोइजको पनि समान १२ अंक छ भने पाँच खेलबाट १० अंक बनाएको राप्तीसमेत छनोटको दौडमा छ।

आजै भएको दोस्रो खेलमा लम्की एफसी र नेपाल खेलकुद परिषद्ले गोलरहित बराबरी खेलेका छन् । पाँचौ खेलसम्म पनि जित निकाल्न नसकेको लम्की छनोटबाट बाहिरिएको छ। खेलकुद क्लबको भने ७ अंक छ । यो समूहमा संकटा चार खेलमा जित सहित शीर्षस्थानमा छ ।