चीनको सुरक्षा रणनीति जीएसआईमा नेपालले समर्थन नजनाएको परराष्ट्र मन्त्रालयका प्रवक्ताको दाबी

चीनलाई जवाफसहित आधिकारिक खण्डन आउन भने बाँकी
भाद्र १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
चीनको सुरक्षा रणनीति जीएसआईमा नेपालले समर्थन नजनाएको परराष्ट्र मन्त्रालयका प्रवक्ताको दाबी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको भेटवार्तापछि चीनले आफ्नो सुरक्षा रणनीति ग्लोबल सेक्युरिटी इनिसियटिभ-जीएसआईमा नेपालले समर्थन गरेको दाबी गरे पनि परराष्ट्र मन्त्रालयका प्रवक्ताले त्यसलाई अस्वीकार गर्नुभएको छ ।

चिनियाँ विदेश मन्त्रालयले दुई नेताबीचको भेटवार्तापछि जारी गरेको विज्ञप्तिमा चीनद्वारा प्रस्ताव गरिएका जीएसआईसहित चीनका ग्लोबल डेभलपमेन्ट इनिसियटिभ र ग्लोबल सिभिलाइजेन इनिसियटिभमा नेपालले समर्थन जनाएको उल्लेख गरिएको छ । तर परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले चिनियाँ विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख ग्लोबल डेभलपमेन्ट इनिसियटिभमा मात्र नेपालको चासो रहेको बताउनुभएको छ । 

जीएसआई अमेरिकाको इण्डो प्यासिफिक रणनीति-आइपीएसजस्तै चीनको सुरक्षा रणनीति हो । यो कार्यक्रमलाई चिनियाँ राष्ट्रपति सीले सन् २०२२ मा अघि सार्नुभएको थियो । अमेरिकाको आइपीएस तथा क्वाडको विकल्पका रूपमा यो अघि सारिएको हो ।

नेपालको संविधान र परराष्ट्रनीतिविपरीत आएको चिनियाँ दाबीलाई नेपाल सरकारले औपचारिक रूपमा खण्डन गरेको छैन । तर, ओली-सी भेटमा सहभागी नेपाली टोलीका सदस्यहरूले वार्ताका क्रममा जीएसआइको विषय नउठेको स्पष्ट पारिसकेका छन् । 

प्रधानमन्त्री ओलीसँगै चीन भ्रमणमा रहनुभएका शिक्षा मन्त्री रघुजी पन्तले चीनको सुरक्षा रणनीतिलाई नेपालले समर्थन नगरेको स्पष्ट पार्नुभयो । सत्तारूढ एमालेका नेताहरुले पनि चीनको जीएसआईमा नेपालको समर्थन नभएको बताएका छन् । 

काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा एमाले नेता डा. राजन भट्टराईले नेपाल कुनै पनि सैन्य रणनीतिमा सामेल नहुने बताउनुभयो । प्रधानमन्त्रीकै भ्रमणदलबाट यसको खण्डन भइसकेको उहाँको भनाइ छ ।

कुनै पनि मुलुकको सुरक्षा रणनीतिमा सामेल हुनु नेपालको संविधान र असंलग्नताको परराष्ट्रनीतिविपरीत हुन्छ । यसअघि विरोधकै कारण अमेरिकाको आइपीएसमा संलग्न हुने प्रयास रोकिएको थियो भने जीएसआईमा पनि संलग्न गराउने प्रयास हुँदै आएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


सम्बन्धित