काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आतंकवाद, क्षेत्रीय सुरक्षा, जलवायु परिवर्तनजस्ता चुनौतीको सामनाका लागि क्षेत्रीय सहकार्य अपरिहार्य रहेको औंल्याउनुभएको छ ।
चीनको थियानजीनमा आयोजित एससीओ प्लस समिटलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले क्षेत्रीय सहकार्य आर्थिक, प्राविधिक तथा पारिस्थितिकीय साझा समस्या समाधान गर्ने महत्वपूर्ण माध्यम भएको बताउनुभयो ।
उहाँले वर्तमान समयमा कुनै पनि देश एक्लै सुरक्षित रहन सक्ने अवस्था नरहेको उल्लेख गर्दै बहुपक्षीय सहकार्य अनिवार्य रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनको प्रभाव नेपालले प्रत्यक्ष भोगिरहेको उल्लेख गर्दै हिमाल पग्लने क्रम जारी रहँदा करोडौंको जीवन संकटमा पर्ने औंल्याउनुभयो ।
नेपाल सन् २०१६ देखि एससीओका संवाद साझेदार रहेकोमा पूर्ण सदस्यताको पखाईमा रहेको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो ।