कास्की । समस्याग्रस्त इमेज सहकारीले पोखराका एक लाखमुनिका बचतकर्तालाई रकम फिर्ता गर्न सुरू गरेको छ ।
बागलुङ ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली संस्थापक अध्यक्ष रहेको सहकारीले साेमबारदेखि बचतकर्ताको रकम फिर्ता गर्न सुरू गरेको हो ।
सहकारीले पोखरा शाखाका पाँच सय २७ जनामध्ये एक सय ५८ जनालाई रकम फिर्ता गर्न थालेको सहकारी पीडित संघर्ष समितिका संयोजक दिलबहादुर कार्कीले जानकारी दिनुभयो ।
सहकारीले बागलुङमा एक लाखमुनिका ६ सय १३ जनाको करिब ५ करोड रूपैयाँ फिर्ता गरिसकेको र पोखराका बचतकर्तालाई पनि फिर्ता गर्न सुरू गरिएको कार्कीले बताउनुभयो ।
सहकारीले एक लाखभन्दा बढी बचत रहेको बचतकर्ताको हकमा भने बागलुङ, पोखरा, चितवन र काठमाडौंमा चलनचल्लीको मूल्यको घर-घडेरी उपलब्ध गराउने मिलापत्र गरिएको कार्कीले जानकारी दिनुभयो ।
समितिले पर्वतको मिना ग्रुप प्रालिसँग सहकार्य गरी बचतकर्ताको रकम फिर्ता प्रकृया अघि बढाएको छ । हालसम्म बागलुङका एक हजार पाँच सय ६ जना र पोखराका तिन सय ८७ जनासाग मिलापत्र भइसकेको जनाएको छ ।
उक्त सहकारीको बागलुङ, गलकोट, बुर्तिवाङमा एक हजार पाँचसय ७४ र पोखरामा पाँच सय २४ बचतकर्ताको एक अर्ब ९५ करोड रूपैयाँ हिनामिना भएको अदालतमा दायर भएको अभियोगपत्रमा उल्लेख गरिएको छ । देवकुमार नेपाली पुर्पक्षका लागि थुनामा हुनुहुन्छ ।