काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले शीतयुद्ध मानसिकताको विरोध गर्न सांघाई सहयोग संगठन-एससीओका सदस्य मुलुकहरूलाई आग्रह गर्नु भएको छ ।
एससीओको सम्मेलनलाई थियानजीनमा सम्बोधन गर्दै राष्ट्रपति सीले विश्व दिनप्रतिदिन अव्यवस्थित बन्दै गइरहेको भन्दै जटिल सुरक्षा र विकास चुनौतीको सामना गरिरहेको बताउनुभयो ।
उहाँले विश्वमा समान र व्यवस्थित बहुध्रुवीकरणका साथै न्यायपूर्ण र समानतामूलक वैश्विक शासन प्रणाली निर्माण गर्न एससीओले काम गर्नुपर्ने बताउनुभयो । सीले चीनले यस वर्ष सदस्य मुलुकहरूलाई २ अर्ब युआन सहयोग गर्ने र एससीओको बैंकिङ समूहलाई थप १० अर्ब युआन ऋण उपलब्ध गराउने बताउनुभयो ।
यसैबीच, सम्मेलनका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ । भेटका अवसरमा पुटिनले युक्रेन युद्धको शान्तिपूर्ण समाधानका लागि भारत र चीनले गरेको प्रयासको प्रशंसा गर्नुभयो ।
उहाँले पश्चिमा मुलुककै कारण युक्रेन संकट उत्पन्न गरेको दाबी गर्नुभयो । रुसबाट तेल किनेकोमा जरिवानास्वरूप अमेरिकाले भारतीय सामानमा ५० प्रतिशत कर लगाएका बेला यो मोदी र पुटिनबीच यो भेटवार्ता भएको हो ।