मुलुकको समृद्धिका लागि भौतिक विकास मात्रै पर्याप्त हुँदैन : राष्ट्रपति पौडेल

भाद्र १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
मुलुकको समृद्धिका लागि भौतिक विकास मात्रै पर्याप्त हुँदैन : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि भौतिक विकास मात्रै पर्याप्त नहुने बताउनुभएको छ ।

सोमबार राष्ट्रिय कविता महोत्सव पुरस्कार समर्पण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले साहित्य, कला, संगीत, संस्कृति र प्राज्ञिक क्षेत्रको विकास पनि उत्तिकै अपरिहार्य रहेको बताउनु भयो । 

उहाँले नेपाल विभिन्न भाषा, जाति र अनेकौँ संस्कृतिहरूको साझा थलो भएको उल्लेख गर्दै संसारको सर्वोच्च शिखर सगरमाथा लगायतका उच्च हिमश्रृंखलाले सुशोभित शान्तिका अग्रदुत गौतम बुद्धको जन्मभूमि र कहिल्यै पराधिन नभएको स्वाधिन र स्वतन्त्र देश नेपाललाई विश्वसामु चिनाउने काममा नेपाल प्रज्ञा प्रतिष्ठानको महत्वपूर्ण भुमिका रहेको बताउनु भयो । 

नेपाली जनताको लामो त्याग र बलिदानबाट प्राप्त उपलब्धिलाई प्राज्ञिक रूपमा स्थापित गर्ने दायित्व पनि नेपाल प्रज्ञा प्रतिष्ठानकै भएको उहाँले बताउनु भयो । राष्ट्रपति पौडेलले हरेक मानिसको जीवनमा भाषा, साहित्य र संस्कृतिको महत्व ठूलो हुने बताउनु भयो । 

नेपालको सान र पहिचान भनेकै भाषा, साहित्य र संस्कृति रहेको उहाँले बताउनु भयो । यसको विकास र उत्थान गर्नु नेपालीहरूको साझा दायित्व रहेको उहाँकाे भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


सम्बन्धित