प्रतिपक्षी दलहरूलाई सांसद सिटौलाको आग्रहः ‘कुलिङ पिरियडमा एमाले मान्यो, उमेरहदमा तपाईहरू मान्नुस्’

भाद्र १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रतिपक्षी दलहरूलाई सांसद सिटौलाको आग्रहः ‘कुलिङ पिरियडमा एमाले मान्यो, उमेरहदमा तपाईहरू मान्नुस्’

काठमाडौं । नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले निजामती सेवामा अनिवार्य अवकाशको उमेर हद ५८ वर्षबाट ५९ बनाउने सरकारको प्रस्ताव मान्न प्रतिपक्षी दलहरूलाई आग्रह गर्नुभएको छ ।

सोमबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा भएको संघिय निजामति सेवा विधेयक सम्बन्धी छलफलमा उहाँले यस्तो आग्रह गर्नुभएको हो । सत्तारूढ दल नेकपा एमालेका सांसदहरूले कुलिङ अफ पिरियड नराख्ने गरी संसोधन प्रस्ताव हालेको उल्लेख गर्नुहुँदै उहाँले एमाले यसबाट पछि हटेको बताउनु भयो । 

कुलिङ अफ पिरियड राख्ने कुरामा समेत सर्वसहमति भएकोले उमेरहदको विषयमा पनि धेरै विवाद गर्न नहुनेमा उहाँले जोड दिनुभयो । उहाँले संघीय निजामति ऐन २०८१ सालमा नै बनेको भए यसबेला ५९ वर्ष नै उमेरहद कायम हुने पनि उल्लेख गर्नुभयो । 

प्रतिनिधि सभाले बनाएको कानूनलाई आधार मानेर हेर्ने हो भनेपनि अहिले राष्ट्रिय सभाले ५९ वर्ष राख्दा फरक नपर्ने उहाँको भनाइ छ । उहाँले प्रतिनिधि सभाले पारित गरेका कतिपय विषय राष्ट्रिय सभाले परिवर्तन गरेको पनि बताउनु भयो ।

उहाँले विपक्षी दलहरूलाई निजामती सेवामा अनिवार्य अवकाशको उमेरहद ५८ वर्षबाट ५९ बनाउने सरकारको प्रस्तावमा कम्प्रमाईज गर्दा केही नोक्सान नहुने बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.