मधेशमा तस्करी : एक सयबढी घुमुवा र बदनाम प्रहरी जिम्मेवारीमुक्त

भाद्र ९, २०८२ |विनय आजाद
मधेशमा तस्करी : एक सयबढी घुमुवा र बदनाम प्रहरी जिम्मेवारीमुक्त

सिरहा । मधेश प्रदेशमा प्रहरी प्रशासनकै मिलेमतोमा तस्करी धन्दा चल्दै आएको विषय सार्वजनिक हुन थालेपछि एक सयबढी प्रहरी कारबाहीमा परेका छन् । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरले एक सयबढी प्रहरीलाई जिम्मेवारीमुक्त गरेको हो ।

मधेशका प्रहरी प्रमुख डीआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार, जिम्मेवारी खोसिनेमा प्रदेशका आठै जिल्लामा कार्यरत १ सय १३ जनाबढी प्रहरी छन् । जसमा सादा पोसाकमा काम गर्ने घुमुवा तथा गैरव्यावसायिक गतिविधिमा संलग्न विभिन्न दर्जाका प्रहरी कर्मचारी छन् ।

उनीहरूलाई कार्यरत रहेको ठाउँबाट अन्यत्र सरूवा गरी पठाइएको डीआईजी चतुर्वेदीले जानकारी दिनुभयाे । गैरव्यावसायिक गतिविधिमा संलग्न प्रहरीको पहिचान गर्ने र त्यहाँबाट अन्यत्र पठाउने काम अझै जारी रहेको उहाँले बताउनुभयाे ।

सीमानाकामा तस्करी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, भन्सार कार्यालयलगायतका कर्मचारी खटिएका हुन्छन् । यसका अलावा सुरक्षा निकायले सीमामा 'घुमुवा' पनि परिचालन गरेको हुन्छ ।

तर, घुमुवाहरूको तस्करी गर्नेहरूसँगै हिमचिम हुने र उनीहरूको काम तस्करी नियन्त्रण नभई लाइन मिलाउने तथा असुली गर्ने रहेको आरोप सुरक्षा निकायमाथि लाग्दै आएको छ ।


Image

विनय आजाद

आजाद कान्तिपुर टेलिभिजन सिरहाका संवाददाता हुन् ।