बुटवलका दुईवटा केबलकार घुम्ने र रमाउने नयाँ गन्तव्य, भारतीय पर्यटक पनि उल्लेख्य आउने

आश्विन २८, २०८२ |अमृता अनमोल
बुटवलका दुईवटा केबलकार घुम्ने र रमाउने नयाँ गन्तव्य, भारतीय पर्यटक पनि उल्लेख्य आउने

बुटवल । दशैंतिहारको लामो छुट्टीमा कहाँ घुम्न जाँदै हुनुहुन्छ ? बुटवलका दुईवटा केबलकार तपाईँका घुम्ने र रमाउने गन्तव्य बन्न हुनसक्छन् । जहाँ तराईबाट नजिकैको रमणीय चुरे पहाडमा गएर रमाउन सकिन्छ ।

चुरे पहाडको फेदमा छ बुटवल । यही बुटवलका बल्लो र पल्लो पाल्पाका चुरे पहाडमा २ वटा केबलकार सञ्चालन भएका छन् । त्यसमध्येको एक हो, लुम्बिनी केबलकार । बुटवल-३ बमघाटमा सुरू स्टेसन रहेको केबलकारले माथिल्लो स्टेसन पाल्पाको तिनाउ गाउापालिका-३ वसन्तपुरमा राखेको छ । केबलकारले बुटवल र वसन्तपुरलाई जोडेको छ । 

हरियाली र चिसो मौसमसंगै यहाँ कामाख्यादेवीको मन्दिर बनाइएको छ । जहाँ नेपालसहित उल्लेख्य भारतीय पर्यटक पनि आउने गरेका छन् । लुम्बिनी केबलकार दुई किलोमिटर ६ सय मिटर लामो छ । २५ वटा गोन्डला रहेको केबलकारले दैनिक ६ हजार पर्यटक आवतजावत गराउन सक्छ । सञ्चालनको साढे २ वर्षमा साढे तीन लाख बढी पर्यटकले केबलकार यात्रा गरेका छन् ।

बुटवलको पश्चिममा देउराली डााडाबाट पाल्पाको नुवाकोटगढी जोड्ने अर्को केबलबार हो सिद्धार्थ केबलकार । बुटवलबाट केबलकार चढेर मनोरम दृश्य हेर्दै करिब ७ मिनटमा रूपन्देही र पाल्पा जिल्लाको संगमस्थल नुवाकोटगढी पुगिन्छ । 

सिद्धार्थ केबलकारको प्रस्थान विन्दु नजिकै कर्णेल उजीरसिंह नेतृत्वको फौजले अंग्रेज फौजलाई हराएको बुटवलको जितगढी किल्ला र त्यसबेलाका राजा मणिमुकुन्द सेनको शीतकालीन दरबार रहेको मणिमुकन्द उद्यान छन् । अन्तिम स्टेसनमा नुवाकोटगढीमा उनै राजाको गृष्मकालीन दरबार छ ।

बुटवलबाट बल्लो र पल्लो चुरे पहाडमा सञ्चालन भएका केबलकारले यस क्षेत्रको ऐतिहासिक, पुरातात्तित्वक र सांस्कृतिक महत्वलाई पर्यटनसित जोड्न सघाएका छन् । बुटवलमा उखरमाउलो गर्मी हुँदा करिब दुई किलोमिटर केबलकारको यात्राबाट पुग्न सकिने नुवाकोटगढी र वसन्तपुरमा शितलता हुन्छ । बुटवल कुहिरोले छोपिँदा यी डााडामा घाम लाग्छ । 

डाडाबाट देखिने उत्तरतर्फको मनोरम हिमशृंखला र दक्षिणतर्फको समथर फााटले पनि धेरैको मन तान्छ ।


Image

अमृता अनमोल

अनमोल कान्तिपुर टेलिभिजन रुपन्देही संवाददाता हुन् ।