सुर्खेत । नेपालमै पहिलोपटक टनेल बोरिङ मेसिन टीबीएम प्रविधि प्रयोग गरेर सुरुङ्ग खनेर चर्चामा आएको राष्ट्रिय गौरवको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम पछिल्लो चार वर्षदेखि कछुवा गतिमा अगाडि बढेको छ ।
६९ प्रतिशत भौतिक प्रगति भएको परियोजनालाई आवश्यक जग्गा अझै अधिग्रहण भइसकेको छैन । प्रभावकारी समन्वय नभए तोकिएको समयभित्र आयोजना सम्पन्न नहुने देखिएको छ । दश वर्षमै निर्माण सक्ने लक्ष्य राखिएको राष्ट्रिय गौरवको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माण थालिएको १३ वर्ष भयो । तर अहिलेसम्म ६९ प्रतिशत मात्रै काम सकिएको छ ।
आयोजनामा दोस्रो चरण अन्तरर्गत हाल : बााध तथा पावरहाउस निर्माण, हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकल लगायतका कामहरु भइरहेका छन् । आयोजनाबाट उत्पादन हुने ४६ मेगावाट विद्युत प्रसारण लाइनको विस्तृत सर्वेक्षण रिपोर्ट, वन तथा वातावरण मन्त्रालयमै अड्कीएको छ भने मुआब्जा विवादका कारण १७ हेक्टर जग्गा अधिग्रहण गर्न बाँकी छ ।
आयोजनाका लागि आवश्यक ३३ हेक्टरमध्ये हालसम्म १६ हेक्टर मात्रै जग्गा अधिग्रहण भएको छ । ऐलानी जग्गाको मुआब्जा र स्वामित्व विवादका कारण १७ हेक्टर जग्गा अधिग्रहण हुन सकेको छैन । स्थानीयहरु भने आयोजनाकै कारण जग्गा अधिग्रहण हुन नसकेको, प्रभावितका लागि पूर्वाधार निर्माण र रोजगारी दिने विषयमा समेत चासो नदिएको बताउँछन् ।
आयोजनामा पहिलो चरण अन्तर्गत सबैभन्दा जटिल मानिएको १२ किलोमटिर सुरुङ्ग निर्माणको काम ६ वर्षअघि नै सकिएको छ । आयोजना र सरकारबीच समन्वयको अभाव, मुआब्जा विवाद र प्राविधिक कारण देखाउँदै निर्माण व्यवसायीले तोकिएको अवधिमा काम सम्पन्न गर्न नसक्ने बताउँदै आएका छन् ।
आर्थिक वर्ष २०७१/०७२ देखि निर्माण थालिएको आयोजनाबाट भेरी नदीको पानीलाई १२ किलोमिटर लामो सुरुङमार्फत बबई नदीमा खसाल्ने र बाँके-बर्दियाका करिब ५१ हजार हेक्टर जमिनमा १२ महिना सिँचाइ सुविधा पुर्याउने लक्ष्य छ ।
सोही आयोजनाबाट ४६ मेगावाट विद्युत् उत्पादन गरिने छ । आर्थिक वर्ष २०८४/०८५ सम्म सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजना निर्माणमा ३३ अर्ब १९ करोड लाग्ने अनुमान छ । जसमध्ये हालसम्म १८ अर्ब १९ करोड रूपैयाा खर्च भइसकेको छ ।