काठमाडौं । भदौ २४ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा तोडफोड र आगजनी भयो ।
तोडफोड र आगजनी भएको देउवा निवासमा ठूलो परिमाणमा विदेशी मुद्रासहितको रकम जलेको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो । देउवा निवासमा कति रकम थियो भन्ने यकिन त भएको छैन । तर त्यो रकमको स्रोतको खोजी पनि अहिलेसम्म पार्टीले गरेको छैन ।
देउवाले ठूलो मात्रामा राखेको रकममा जवाफदेही बनाउनुपर्ने माग समाजमा भइरहेको छ । तर कांग्रेसको अनुशासन समितिले यसबारे कुनै प्रश्न सोधेको छैन । देउवामात्र होइन, कांग्रेसको अर्का नेता दीपक खड्काको घरमा पनि उस्तै दृश्य देखिएको थियो ।
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी छ । के यो बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेता दीपक खड्कालगायतको घरमा भेटिएको पैसाको छानबिन हुनुपर्ने प्रस्ताव कांग्रेसले ल्याउँला ? केन्द्रीय सदस्यहरुले पैसाबारे छानबिन हुनुपर्ने आवाज उठाउँलान् ? देउवा र तत्कालीन मन्त्रीसमेत रहेका नेता खड्कालगायतको निवासमा निवासमा भेटिएको ठूलो रकमका बारेमा सरकारी निकायले आफ्नो हिसाबले अनुसन्धान गरिरहेका छन् ।
पार्टी नेताहरुले सार्वजनिक मञ्चहरुमा थोरबहुत कुरा उठान गरिरहेका भए पनि पार्टीले यसबारे प्रष्ट बनाएको छैन । न त देउवा दम्पत्तिले प्रष्ट्याएका नै छन् । कांग्रेस नेता दीपक खड्काले भने एआइबाट भिडियो बनाएर सामाजिक सञ्जालमा छरपस्ट बनाइएको भन्दै अपत्यारिलो प्रष्टीकरण दिएका थिए ।
अब भने बल्ल यो विषयमा कुरा उठाउने नेताहरुले बताउन थालेका छन्। सभापति देउवा र नेता खड्काको घरमा पैसा भेटिएको भन्दै सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि सरकारले अनुसन्धान सुरु गरेको छ । सम्पत्ति शुद्धीकरण विभागको तीन सदस्यीय टोलीले अनुसन्धान गरिरहेको हो ।
घटनाको १३औं दिनमै विभागको टोली देउवा, खड्का माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको घरमै पुगेर मुचुल्का उठाएको थियो । अहिले अनुसन्धान जारी छ । सभापति देउवाको घरमा भेटिएको भनिएको पैसा कति हो, देउवा दम्पत्तिले सरकारलाई अनुसन्धानमा कसरी सघाउँछन्, विदेशी मुद्राको स्रोत के हो ? गम्भीर अनुसन्धानको विषय भने बनेको छ ।
केन्द्रीय समिति बैठकमा देउवा स्वयमले यसबारे झुटो प्रचार गरियो, अनुसन्धान होस् भनिरहनुभएको छ । सभापति देउवाले नै अनुसन्धान होस् भनेपछि कांग्रेसले पनि बैठकमार्फत सरकारलाई अनुसन्धान गर्न आह्वान र त्यसमा सहयोगसमेत गर्नुपर्छ । तर सरकारी निकायले अनुसन्धान गर्छ भनेर कांग्रेस चुप बस्न भने पाउँदैन।