भियतनामका उपराष्ट्रपति नेपालको औपचारिक भ्रमणका लागि काठमाडौंमा, उपराष्ट्रपतिसँग द्विपक्षीय वार्ताको कार्यक्रम

राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता हुने
भाद्र ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
भियतनामका उपराष्ट्रपति नेपालको औपचारिक भ्रमणका लागि काठमाडौंमा, उपराष्ट्रपतिसँग द्विपक्षीय वार्ताको कार्यक्रम

काठमाडौं । समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीन दिने औपचारिक भ्रमणका लागि शनिबार काठमाडौं आइपुग्नुभएको छ । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ नेपालको भ्रमणमा आउनुभएको हो ।

उपराष्ट्रपति सुआनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा परराष्ट्रमन्त्री आरजु राणा देउवा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले स्वागत गर्नुभयो ।

त्यस अवसरमा नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुखलगायत विशिष्ट व्यक्तित्व उपस्थित हुनुभयो । उपराष्ट्रपति सुआनले उहाँको सम्मानमा नेपाली सेनाले प्रदान गरेको गार्ड अफ अनरको निरीक्षण गर्नुभयो ।

उहाँसँग आजै परराष्ट्रमन्त्री राणाले शिष्टाचार भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ । उहाँ सोमबारसम्म नेपाल भ्रमणमा हुनुहुने छ । भियतनामबाट नेपालमा भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो । भ्रमणका क्रममा उपराष्ट्रपति यादव र उहाँका समकक्षी सुआनबीच आइतबार काठमाडौंमा प्रतिनिधिमण्डस्तरीय द्विपक्षीय वार्ता हुने मन्त्रालयले जनाएको छ ।

उपराष्ट्रपति सुआनले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टा-छुट्टै शिष्टाचार भेटवार्ता गर्न हुने कार्यक्रम छ । यो वर्ष नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औं वर्षगाँठसमेत परेकाले यस भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ । 

उपराष्ट्रपति सुआन भदौ ९ गते स्वदेश फिर्ता हुने तालिका छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


सम्बन्धित