जेन-जी आन्दोलनपछि सुधारगृह र जेलबाट भाग्ने क्रममा क-कसकाे भएकाे थियाे मृत्यु ?

आश्विन १, २०८२ |कान्तिपुर टीभी संवाददाता
जेन-जी आन्दोलनपछि सुधारगृह र जेलबाट भाग्ने क्रममा क-कसकाे भएकाे थियाे मृत्यु ?

काठमाडौं । जेन-जी आन्दोलनपछि विकसित घट्नाक्रम अन्तर्गत नै सुधारगृहबाट भाग्ने क्रममा ५ बालक र जेलबाट भाग्ने क्रममा ५ कैदीले पनि ज्यान गुमाएका छन् । 

भदौ २४ गते राति बाँकेको नौबस्तास्थित बालसुधार गृहमा रहेका बालबिज्याइकर्ता भाग्न खोज्दा प्रहरीले गोली चलाएको थियो, त्यस क्रममा पाँच जनाको मृत्यु भएको हो ।

प्रहरीले झडपमा परी पाँच जनाको मृत्यु भएको जनाएको छ। अभिभावकले सजाय भुक्तान गरिरहेका आफ्ना सन्तानलाई प्रहरीले अनाहकमा मारेको आरोप लगाएका छन्।

मृत्यु हुनेमा अछामका २१ वर्षका उमेश बिष्ट, दाङका २० वर्षका विनेश घर्ती मगर, बाँके खजुराका २० वर्षका समीर थापा, कैलालीका १९ वर्षका जगत देउवा र दैलेखका २१ वर्षीय भूपेन्द्र खत्री छन्। 

मृत्यु भएका पाँचै जना जबर्जस्ती करणी मुद्दामा बालसुधार गृह पुगेका थिए। यता भदौ २६ गते बिहान रामेछापमा जिल्ला कारागार तोडफोड गरेर भाग्न खोजेका कैदीबन्दीमाथि सेनाले गोली चलाउँदा तीन कैदीबन्दीको मृत्यु भएको छ। 

जबर्जस्ती करणी मुद्दामा सजाय भुक्तान गरिरहेका मोरङको विराटनगर-५ का ५१ वर्षीय राजकिशोर यादव, कर्तव्य ज्यान मुद्दामा सजाय पाएका धनुषाको गणेशमान चारनाथ नगरपालिका-३ का ५८ वर्षीय बिकरू धोबीको घटनास्थलमै मृत्यु भएको हो। 

मानव बेचबिखन मुद्दामा सजाय काटिरहेका धनुषा जनकपुरधाम-१२ का मनोज महतोको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो। यसैगरि भदौ २५ मा धादिङ कारागारमा कैदीबन्दीले तोडफोड गर्न थाले। 

कैदीबन्दी गेट तोडेर भाग्न खोजेपछि नेपाली सेनाले उनीहरूलाई रोक्न पानीको फोहोरालगायत प्रयोग गर्‍यो। च्यानल गेट तोडेर बाहिरिन थालेपछि सेनाले चलाएको गोली लागेर २ कैदीबन्दीको मृत्यु भयो।

तीमध्ये एक थिए, धादिङ बेनीघाट रोराङ गाउँपालिका-४ घर भई जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका ६७ वर्षीय जितबहादुर घले। नाबालिका करणी मुद्दामा जेल भुक्तान गरिरहेका घले अविवाहित हुन्। 

उनको परिवारमा कोही नभएकाले काकाको छोराछोरीले शवको जिम्मा लिएर अन्त्येष्टि गरेका छन्। गोली लागेर मृत्यु भएका अर्का हुन्, पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१२ घर भएका ३८ वर्षका इन्द्रबहादुर डाला। 

सवारी चालकको काम गर्ने उनी ७ साउन २०८० मा धादिङको गल्छी गाउँपालिका-७ बुद्धपार्कबाट लागूऔषध गाँजासहित पक्राउ परेका थिए। निम्नवर्गीय परिवारका डालाका श्रीमती, २० वर्षकी छोरी र १८ वर्षका छोरा छन्। डालाको मृत्युपछि परिवार र छरछिमेकी शोकमा परेका छन्।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.