काठमाडौं । जेन-जी आन्दोलनको दोस्रो दिन भदौ २४ गते प्रदर्शनका क्रममा सरकारीसँगै सयौं निजी उद्योग व्यवसाय, व्यापारिक संरचना, व्यापारिक घरानालगायतमा गरिएको आगजनी तथा तोडफोडले अर्बौं रूपैयाँ बराबरको क्षति पुगेको छ।
सँगसँगै ती घरानाका व्यावसायिक प्रतिष्ठानमा आगजनीमा परेर मृत्यु हुनेहरूको संख्या पनि दर्जभन्दा बढी पुगेको पाइएको छ। प्रदर्शनमा व्यापारिक घराना र निजी घरमा मात्र १५ जनाले ज्यान गुमाएको पाइएको छ। त्यसमध्ये ३ जनाको मात्र सनाखत भएको छ।
भाटभटेनी सुपरमार्केटको चुच्चेपाटी शाखामा ७, इटहरी शाखामा ४ र विराटनगर शाखामा १ जनाले ज्यान गुमाए पनि उनीहरूको सनाखत भएको छैन । सनाखत भएकामा बैत्यश्वर गाउँपालिका–८ दोलखाकी २६ वर्षीया स्वस्थानी खड्का, काठमाडौं चन्द्रागिरि–५ का ४० वर्षीय महेन्द्र परियार र भुम्लु गाउँपालिका–४ काभ्रेपलाञ्चोकका २६ वर्षीय सरोज खत्री रहेका छन् ।
स्वस्थानी कानुन व्यवसायी बन्न चाहनुहुन्थ्यो । नेपाल ल क्याम्पसमा कानुन अध्ययनरत बैत्यश्वर गाउँपालिका–८ की २६ वर्षकी स्वस्थानी खड्का व्यक्तिगत कामका सिलसिलामा पोखरा पुग्नुभएको थियो ।
उहाँ त्यतै २४ भदौको प्रदर्शनमा सहभागि हुनुभयो । स्वस्थानीको ज्यान कसरी गयो भन्ने परिवारलाई थाहा छैन । उहाँको शव पोखराको हिमालयन अर्गनाइजेसनमा जलेको अवस्थामा फेला परेको थियो ।
४० वर्षीय महेन्द्र परियार भने ज्याला मजदुरी गर्दै आउनुभएको थियो । भदौ २४ गते चन्द्रागिरीको विशाल ग्रुपको भवनमा महेन्द्र जलेको अवस्थामा भेटिनुभयो । त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरेर आइतबार आर्यघाटमा उहाँको अन्त्येष्टि गरिएको छ।
काभ्रेको भुम्लु गाउँपालिका–४ का २६ वर्षीय सरोज खत्रीको भदौ २४ गतेको आन्दोलनका क्रममा पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालकी छोरी गंगा दाहालको नखिपोटस्थित घरमा जलेर मृत्युभएको थियो ।