काठमाडौं । जेन-जी आन्दोलन र त्यसपछि विकसित घटनाक्रमको प्रभावले खेलकुद क्षेत्रका गतिविधि शून्य प्राय: छन् ।
भदौ २३ गतेको आन्दोलनमा भएको सरकारी दमन र भोलिपल्टको विध्वंसात्मक आन्दोलनले खेलाडी र पदाधिकारीहरू सबैलाई विक्षिप्त बनाएको छ । खेल पूर्वाधारमा कुनै क्षति नभए पनि चलिरहेको प्रतियोगिता स्थगित भएका छन् ।
अहिले सबै खेल गतिविधि ठप्प छन् । कहिले सुरू हुने भन्ने अनुमान गर्न सकिने अवस्था छैन । न नयाँ योजना नै अघि आउन सकेका छन् । जेन-जी आन्दोलनका क्रममा नेपालभर धेरै खेलकुद गतिविधि अवरूद्ध भएका छन् ।
फुटबल, भलिबलका प्रतियोगितामा सीधा असर गर्दा क्रिकेटका प्रतियोगिता पनि अन्योलमा छन् । खेल पूर्वाधारमा कुनै क्षति नभए पनि चलिरहेको प्रतियोगिता स्थगित गर्नुपरेको कारण आयोजकलाई आर्थिक क्षति हुँदा खेलाडीको मनोबल पनि कमजोर बनेको छ ।
पोखरामा एभरेस्ट महिला भलिबल लिग आयोजना भइरहँदा स्थगित भयो। फ्रेन्चाइज प्रतियोगिता खासै नहुने पोखराको लागि यो आयोजना निकै विशेष थियो । तर, प्रतियोगिताका सात खेल बाँकी रहँदा भदौ २३ गतेपछिका खेल सञ्चालन नै हुन सकेन् । अब ती खेल कहिले हुन्छ केही पत्तो छैन ।
नेपाल र बंगलालेशबीच हुने दोस्रो मैत्रीपूर्ण खेल नै आन्दोलनका कारण रद्द भयो । फुटबल संघले यू-१६ लिग र महिला लिग छनोट आयोजना गरिरहेको थियो । महत्वूर्ण घडीमा पुगेका यी दुवै लिगमा अन्तिमका विशेष खेल बाँकी थिए ।
स्थगित भएको यू-१६ युथ लिगको विषयमा छलफल बोलाएको बैठक समेत एन्फाले स्थगित गरेको छ । उक्त स्थगनको क्लबहरूले विरोध गरेका छन् । एन्फाले सो बैठकसमेत सूचना पठाएर रद्द गरेको थियो ।
फुटबलका गतिबिधि यसरी नै रोकिादै जाने हो भने आगामी पुसका लागि तय भएको सहिद स्मारक 'ए' डिभिजन लिगको आयोजना पनि शंकाको घेरामा पर्न थालेको छ । स्थगित भएका फुटबल प्रतियोगिता लगायत गतिविधिहरू कहिले सुरू हुन्छ भन्ने एकिन जवाफ एन्फासँग छैन । त्यसो त जेन-जीको आन्दोलनपछि एन्फामा पनि परिवर्तन गर्नुपर्छ भन्ने आवाजहरू उठिरहेका छन् ।
आगामी कार्तिक २९ गते देखि मंसिर ६ गतेसम्म नेपालमा हुने तय भएको काभा महिला नेसन्स लिग भलिबल स्थगित भएको छ । सेन्ट्रल एसियन भलिबल एसोसिएसन काभा को शनिबार भर्चुअलमार्फत बसेको बोर्ड मिटिङले काठमाडौंको टुडिाखेलमा आयोजना गर्न लागेको आउटडोर प्रतियोगिता स्थगित गरेको हो ।
प्रतियोगिताका लागि भलिबल संघले १० हजार क्षमताको कभर्डहलसमेत बनाउने योजना बनाएको थियो । यसले भलिबलका अन्य गतिविधिमा समेत असर पुर्याएको छ ।
नेपालमा गौरवको प्रतियोगितामा रुपमा हेरिएको नेपाल प्रिमियर लिग एनपीएलको ट्रफी टुर पनि अहिले स्थगित छ । आन्दोलनले दोस्रो संस्करण आयोजनामा समेत यो प्रभाव पार्ने देखिएको छ । दशैंमा गर्ने भनिएको स्ट्रिट टेनिस क्रिकेट लिग पनि प्रभावित हुने भएको छ भने नेपाल र बंगलादेशबीचको रग्बी खेल पनि स्थगित भएको छ ।