काठमाडौं । युरोपियन फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता यूएफा च्याम्पियन्स लिग २०२५-२६ मा बुधबार ६ खेल हुँदैछन् ।
साविक विजेता पेरिस सेन्ट-जर्मेन पीएसजी, प्रिमियर लिग च्याम्पियन लिभरपुल र जर्मन जायन्ट बायर्न म्युनिख आज राति मैदानमा उत्रिँदैछन् । राति पौने १ बजे फ्रान्सको पेरिसमा साविक विजेता पेरिस सेन्ट जर्मेन-पीएसजीले इटालियन क्लब अटलान्टालाई स्वागत गर्दै छ ।
२०१९/२० को क्वार्टरफाइनलमा पीएसजीले अटलान्टालाई नाटकीय रूपमा पराजित गरेको इतिहास छ । घरेलु मैदानमा पीएसजीले विजयी सुरूवात गर्ने लक्ष्य राखेको छ भने अटलान्टाले बलियो चुनौती पेस गर्दै इटालियन फुटबलको प्रतिष्ठा कायम गर्ने प्रयास गर्नेछ ।
यसै समय लिभरपुलले घरेलु मैदान एनफिल्डमा स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ । प्रिमियर लिग अभियानमा उत्कृष्ट प्रदर्शन गरिरहेको लिभरपुलले आफ्नो अपराजित यात्रालाई च्याम्पियन्स लिगमा पनि निरन्तरता दिने अपेक्षा गरिएको छ । डिएगो सिमेओनको टोली एट्लेटिकोले चुनौतीपुर्ण खेल प्रस्तुत गर्ने सम्भावना रहेको छ ।
त्यसैगरी जर्मनीको म्युनिखमा २०१२ को फाइनल स्मरण गराउने खेलमा बायर्न म्युनिख र चेल्सी आमनेसामने हुनेछन् । घरेलु मैदानमा लगातार अपराजित रहँदै आएको बायर्नलाई यसपटक पनि बलियो दावेदार मानिएको छ तर इंग्लिस क्लब चेल्सीले नयाँ खेलाडीहरूको संयोजनमार्फत् उलटफेर गर्ने तयारी गरेको छ ।
यो खेल पनि राति पौने १ बजे नै सुरू हुने छ । आज हुने अन्य खेलहरूमा ओलिम्पियाकोसले पाफोससँग र स्लाभिया प्राहाले बोडो-ग्लिम्टसँग राति साढे १० बजे प्रतिस्पर्धा गर्नेछन् । यस्तै आयाक्स र इन्टरबीचको ऐतिहासिक भिडन्त पौने १ बजे सुरू हुने छ ।