काठमाडौं । यही असोज ११ देखि १४ गतेसम्म यूएईमा हुने नेपाल र वेस्ट इन्डिजबीचको युनिटी कप टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा वेस्ट इन्डिजका पूर्वस्टार क्रिकेटर इयान विशोपले कमेन्ट्री गर्ने भएका छन् ।
नेपाल क्रिकेट संघ-क्यानले सामाजिक सञ्जालमार्फत भिडियो जारी गर्दै विशोप युनिटी कपको कमेन्ट्री प्यानलमा सामेल भएको जानकारी दिएको हो । भिडियो सन्देशमा विशोपले आफू यस सिरिजमा कमेन्ट्री गर्न पाउँदा निकै उत्साहित रहेको बताएका छन् । उनी हाल विश्व क्रिकेटका चर्चित कमेन्टेटरसमेत हुन् ।
विशोपले यसअघि पनि नेपाल र वेस्ट इन्डिजबीच भएको एकदिवसीय विश्वकप छनोटको खेलमा कमेन्ट्री गरेका थिए । त्यस्तै, सन् २०२४ को टी-२० विश्वकपमा पनि उनले नेपालको खेलहरूमा आवाज दिइसकेका छन् ।
क्यानले युनिटी कपको कमेन्ट्री प्यानलमा को-को छन् भन्ने विवरण सार्वजनिक नगरे पनि वेस्ट इन्डिजकै अन्य चर्चित कमेन्टेटरहरूले कमेन्ट्री गर्ने अपेक्षा गरिएको छ ।
नेपाल र वेस्ट इन्डिजबीचका तीनवटै खेल यूएईको शारजाह क्रिकेट स्टेडियममा हुनेछन् । दुई टोलीबीचको पहिलो खेल असोज ११ गते हुने छ । त्यस्तै दोस्रो खेल फूलपातीका दिन अर्थात् १३ गते र तेस्रो तथा अन्तिम टी-२० आई महाष्टमीका दिन १४ गते खेलिने छ ।
सिरिजका लागि क्यानले यसअघिनै नेपाली टोली घोषणा गरिसकेको छ ।