जेन-जी आन्दोलनमा शहादत प्राप्त गरेकाहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

राष्ट्रिय झन्डा आधा झुकाइयो, हालसम्म ७३ जनाको मृत्यु
आश्विन १, २०८२ |कान्तिपुर टीभी संवाददाता
जेन-जी आन्दोलनमा शहादत प्राप्त गरेकाहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

काठमाडौं । जेन-जी युवाको प्रदर्शनको क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा बुधबार देशभर राष्ट्रिय शोक मनाइँदै छ । 

भ्रष्टाचारविरूद्ध गत भदौ २३ र २४ गते भएको आन्दोलनको क्रममा कम्तिमा ७३ जनाको मृत्यु भएको थियो । जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्मानमा यही भदौ ३० गतेको मन्त्रिपरिषद् बैठकले बुधबार राष्ट्रिय शोक मनाउन सार्वजनिक बिदा दिने घोषणा गरेको थियो । 

त्यही निर्णयअनुसार आज नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा छ । यसैगरी राष्ट्रिय झान्डा आधा झुकाइएको छ ।

भ्रष्टाचारविरूद्ध सशक्त युवा आवाजमाथि राज्यको बर्बर दमनका कारण ७३ जनाको मृत्यु भएको छ । यो केबल दुःखद परिघटना मात्र होइन, देशको ऐतिहासिक यात्राको एउटा गम्भीर मोड पनि रहेको विश्लेषण गरिएको छ । 

देशमा सुशासन, जवाफदहीता र पारदर्शिता स्थापित होस् भन्ने माग राख्दा बगाउनुपरेको प्रत्येक थोपा रगतले नेपाली समाजलाई ब्यूँझाइरहने विश्वास गरिएको छ । नागरिकको आँसु, रगत र पीडाले देशमा पुनर्जागरणका लागि सरकारको नेतृत्वमा पुगेकाहरू संवेदनशील हुनुपर्ने आम बुझाइ छ ।

भदौ २३ गतेको जेन-जी आन्दोलनमा बर्बर दमन हुँदा २१ जनाले ज्यान गुमाए । यसरी ज्यान गुमाउनेमा दोलखाका अभिषेश चौलागाई, सुनसरीका अभिषेक श्रेष्ठ, बाँकेका आयुष थापामगर, काठमाडौंका ईश्वत अधिकारी, बाजुराका ओझन बुढा, कैलालीका गौरव जोशी, धनकुटाका छत्रमान कुसुमी, काभ्रेका दिलनारायण तामाङ, गोरखाका विमलबाबु भट्ट छन् । 

यसैगरी भदौ २३ गते प्रहरीको गोली लागेर काठमाडौंका बुद्धिबहादुर तामाङ, अर्घाखाँचीका माधव सारूमगर, सुनसरीका मोहन सरदार, सिन्धुपाल्चोकका योगबहादुर श्रेष्ठ, भक्तपुरका योगेन्द्र न्यौपाने, काठमाडौंका रसिक खतिवडा, उदयपुरका सन्तोष विक, बाग्लुङका सौरभकिशोर श्रेष्ठ, बझाङका सुवासकुमार श्रेष्ठ, बाँकेका सुलभराज श्रेष्ठ र सुनसरीका श्रीराम चौलागाईले पनि ज्यान गुमाउनुभएको थियो ।

यसैगरी भदौ २४ गते प्रहरीको बल प्रयोग र प्रदर्शनकारीको आगजनीमा थप ५२ जनाको मृत्युभएको छ । दोस्रो दिन ज्यान गुमाउनेमा तीन जना प्रहरी पनि थिए । सुधारगृहबाट भाग्ने क्रममा ५ बालक र जेलबाट भाग्ने क्रममा ५ कैदीले पनि ज्यान गुमाए । 

भाटभटेनीमा १२ जनासहित व्यापारिक भवन र निजी घरमा १५ जनाको ज्यान गयो भए ३ जनाको मात्र पहिचान खुलेको छ । मृत्यु भएकाहरूको हिजो शवयात्रासहित पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । कतिपय युवाहरूको शव उनीहरूकै जिल्लामा पुर्‍याइएको छ ।

गृह मन्त्रालयले ‘जेन-जी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन आज सार्वजनिक बिदा दिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.