काठमाडौं । ऊर्जा, भौतिक योजना तथा सहरी विकासमन्त्री कुलमान घिसिङले सिंहदरबारमा परिसरमा जलाइएका सवारीसाधनलाई अन्यत्र लगी व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ ।
जलेका सवारीसाधनका कारण सिंहदरबार परिसर कुरूप देखिएकाले तिनलाई हटाएर अन्यत्र लगी व्यवस्थापन गर्न उहाँले निर्देशन दिनुभएको मन्त्री घिसिङको सचिवालयले जनाएको छ ।
उहाँले विनाशबाट माथि उठ्यौं भन्ने सन्देश दिन सामान्य आगलागीमात्र भएका भवनका बाहिर भागमा रंगरोगन गर्ने, मन्त्रालय तथा कार्यालय परिसरमा आगलागीबाट क्षति भएका सवारीसाधन तुरून्त हटाउने र क्षतिको मूल्यांकन गर्ने काममा तत्काल जुट्न पनि निर्देशन दिनुभएको छ ।
मन्त्री घिसिङले 'हाम्रा संरचना हामी आफैं बनाऔं' अभियानमार्फत सरकार, स्वदेश तथा विदेशमा रहेका नेपालीबाट सहयोग संकलन गरी पुनःनिर्माण सुरू गरिने पनि स्पष्ट पार्नुभएको छ ।
सहरी विकास मन्त्रालयले मातहतका संरचनाको क्षति यकिन गर्न कार्यदल गठनगरी काम सुरू गरिसकेको जनाएको छ ।