निष्कासित आप्रवासी पुनः अमेरिका प्रवेश गरे १० वर्ष जेल सजाय हुने

आश्विन १, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
निष्कासित आप्रवासी पुनः अमेरिका प्रवेश गरे १० वर्ष जेल सजाय हुने

काठमाडौं । अमेरिकामा गैरकानुनी रूपका प्रवेश गरेका आप्रवासी निष्कासितपछि पुनः प्रवेश गरे १० वर्ष जेल सजाय हुने भएको छ ।

‘स्टप इल्लिगल इन्ट्री एक्ट’ नाम दिइएको कानुन अमेरिकी संसद्‌बाट पारित भएसँगै अमेरिकामा गैरकानुनी रूपमा बसोबास गरेको, प्रवेश गरेको वा आपराधिक क्रियाकलाप संलग्न भएको आधारमा निष्कासित भइसकेका आप्रवासी पुनः प्रवेश गरे १० वर्षदेखि आजीवन कारावास हुने भएको हो ।

प्रतिनिधिसभामा रिपब्लिकन सांसद स्टेफनी बाइसको नेतृत्वमा पेस गरिएको ‘स्टप इलिगल इन्ट्री एक्ट’ नाम दिइएको कानुन पारितका लागि भएको निर्वाचनमा २ सय २६ सांसदले पक्षमा र १ सय ९७ ले विपक्षमा मतदान गरेका थिए । विपक्षमा मतदान गर्ने सबै सांसद डेमोक्र्याटका थिए । 

बिलको पक्षमा बहुमत सांसदले मतदान गरेसँगै बाइस नेतृत्वको बिल पारित भएको हो । रिपब्लिकन सांसदहरूले बिलको विपक्षमा मतदान गर्ने डेमोक्र्याटहरूको कडा आलोचनासमेत गरेका छन् । 

रिपब्लिकन सांसद टम एम्मरले डेमोक्र्याटहरू अझै पनि जो बाइडन र कमला ह्यारिसबाट निर्देशित भइरहेको आरोप लगाउनुभयो । उहाँले अवैध रूपमा अमेरिका प्रवेश गर्ने मानिसहरूका लागि सामान्य दण्डको विरूद्धमा मतदान गर्नुले उनीहरूले नोभेम्बरको चुनावपछि पनि केही नसिकेको टिप्पणी गर्नुभयो ।

बिल पारितसँगै अब गैरकानुनी रूपमा अमेरिकामा रहेका वा आपराधिक गतिविधिमा संलग्नपछि निष्कासित भएकाहरू पुनः प्रवेशमा थप कडाइ कार्यान्वयन हुनेछ । यो बिललाई थप मजबुत बनाउन रिपब्लिकन सिनेटर टेड क्रुजले अमेरिकी सिनेटमा अर्को बिल पेस गरिसकेका छन् । 

जुन बिलले गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्ने वा पुनः प्रवेश गर्ने आप्रवासीका लागि दण्ड अझ बढाउने दाबी गरिएको छ ।