विराटनगरमा भव्य राधाकृष्ण रथयात्रा: पाँच लाख भक्तजनको सहभागिता, हेलिकोप्टरबाट पुष्पवृष्टि

भाद्र १, २०८२ |सुशीला पाठक
विराटनगरमा भव्य राधाकृष्ण रथयात्रा: पाँच लाख भक्तजनको सहभागिता, हेलिकोप्टरबाट पुष्पवृष्टि

विराटनगर । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट आइतबार विराटनगरमा भव्य राधाकृष्ण रथयात्रा निकालिएको छ । 

रथयात्रालाई भव्यता प्रदान गर्न हेलिकोप्टरबाट पुष्प वृष्टिसमेत गरिएको छ। रथयात्रामा मोरङको गाउँ-गाउँ, कोशी र मधेस प्रदेशका जिल्ला र भारतबाट आएका भक्तजनको जनसागर ओर्लिएको छ । 

रथयात्राका लागि यस वर्ष विराटनगर महानगरपालिकाको ४४ लाख ७८ हजारको लागतमा फलाम, सखुवा र सिसौंको काठ प्रयोग गरेर नयाँ रथ तयार पारिएको छ । नयाँ रथ पूरानो भन्दा केही लामो, चौडाई, व्यवस्थित र आकर्षक रहेको छ । 

नयाँ रथ २१ फिट ३ इञ्च अग्लो, २२ फिट लम्बाई र १४ फिट चौडाई राधाकृष्ण भगवानको आशन आकर्षक र भित्रि भागलाई फराकिलो बनाइएको, ब्रेक हाइड्रोलिक, आकर्षक बिजुली बत्ती, ८ वटा सिसि क्यामेरा जडित ७ टनको रहेको अध्यक्ष कैलास रेग्मीले बताएका हुन् । 

रथको अग्र भागको दायाँ र बायाँ गरी दुबैपट्टी ७५ फिट लामो रथ तान्न रथको दायाँ लठा पुरूष प्रहरीका साथै भक्तजन र बायाँ महिला प्रहरी भक्तजनले तानेर रथयात्रा निकालिएको हो ।

रथयात्रा राधाकृष्ण मन्दिरबाट सुरू भई मेनरोड हुँदै रोडशेष चोकबाट, महेन्द्र चोक, धरान रोड, बरगाछीबाट पूनः मन्दिर परिसरसम्म ९ किलोमिटर दुरी तय गरिएको छ । 

भक्तजनहरूको लागि रथयात्राको दर्शन र पूजा गर्न ४४ ठाउँमा विश्राम दिने व्यवस्था गरिएको छ । रथको दर्शन गरेमा, डोरी छोएमा पुन्य प्राप्त हुने जनविस्वास छ । १९८८ सालमा राधारकृष्ण मन्दिरको स्थापना भएदेखि खट यात्राबाट सुरू भएर २०२५ सालमा रथको निर्माण गरी कृष्णजन्माष्टमीको भोलीपल्ट राधाकृष्णको प्रतिमा राखेर रथयात्रा निकाल्ने परम्पराले धार्मिक र सांस्कृतिक महत्त्व बोकेको पण्डित भवानी शंखर निरौलाको भनाइ छ ।

रथयात्रामा कोशी प्रदेस, मधेस प्रदेस र भारतका विभिन्न स्थानबाट ५ लाख भक्तजनको सहभागीता छ । रथयात्रामा कडा सुरक्षा वयवस्था गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङ, महानगर प्रहरी र स्वयंसेवक परिचालन गरिने आयोजक समितिले जनाएको छ । 

रथयात्रा अवधीभर कुनै किसिमको अबाञ्छित गतिविधि हुन नदिनका लागि ड्रोन क्यामेराले समेत निगरानी गरिएको छ ।


Image

सुशीला पाठक

पाठक कान्तिपुर टेलिभिजनकी मोरङ संवाददाता हुन् ।