काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले नागरिकलाई छरितो, प्रभावकारी र नागरिकमैत्री सेवा प्रदान गर्ने उद्देश्यका साथ ‘एक ढोका, सम्पूर्ण सेवा प्रणाली’ पुनः सञ्चालनमा ल्याएको छ । नगरपालिकाले यो प्रणालीलाई औपचारिक रूपमा पुनः सुरु गर्दै सेवा प्रवाहलाई अझ व्यवस्थित र उत्तरदायी बनाउने घोषणा गरेको हो ।
पहिलो पटक २०८२ साल वैशाख २ गते सुरु गरिएको यो प्रणाली केही प्राविधिक चुनौती, व्यवस्थापकीय समन्वयको अभाव तथा सबै शाखा प्रमुखहरू एकैसाथ स्थायी रूपमा बस्न नसक्दा पूर्ण रूपमा सञ्चालनमा आउन सकेको थिएन । अब भने सम्पूर्ण शाखा प्रमुखहरू एउटै स्थानमा बस्ने व्यवस्था गरिएको छ, जसले गर्दा नागरिकले प्रशासनिक सेवा लिन विभिन्न शाखामा धाउनुपर्ने झन्झट अन्त्य भएको छ ।
नगर प्रमुख उपेन्द्र कार्कीले सेवा प्रणाली पुनः सक्रिय बनाइएको जानकारी दिँदै, अब नगरवासीले एउटै स्थानबाट सम्पूर्ण सेवा प्राप्त गर्न सक्ने बताउनुभयो । उहाँले सेवा प्रणाली मुस्कानसहितको सेवाको अवधारणामा आधारित रहेको उल्लेख गर्नुभयो ।
यसैबीच, प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले यसले प्रशासनिक समन्वयलाई मजबुत बनाउने मात्र नभई सेवाग्राहीको विश्वास समेत बढाउने बताउनुभयो ।
नगरपालिकाले महिला, दलित, अपाङ्गता भएका व्यक्ति र सेवामा पहुँचको चुनौती भोग्ने समुदायका लागि लक्षित सेवालाई समेत थप सहज र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ ।